ट्रम्पको दाबी अमेरिकाविरुद्ध षड्यन्त्र

spot_img

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रूस र उत्तर कोरियाका शीर्ष नेतामाथि अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ।

ट्रम्पका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ-उनबीचको सहकार्य केवल औपचारिक सम्बन्ध नभई अमेरिकाविरुद्ध लक्षित रणनीतिक चाल हो। उहाँले सामाजिक सञ्जालमार्फत दिएको टिप्पणीमा यी नेताहरूले अमेरिकाको प्रभाव घटाउन साझा योजना बनाइरहेको दाबी गर्नुभएको छ ।

सैन्य परेड र विवाद

सो आरोप दोस्रो विश्वयुद्धमा जापानलाई पराजित गरेको ८०औं वार्षिकोत्सवको अवसरमा चीनमा आयोजित सैन्य परेडपछि आएको हो। उक्त भव्य परेडमा पुटिन र किम दुवै सहभागी भएका थिए। परेडलाई चीनले आफ्नो सैन्य शक्ति र कूटनीतिक सहकार्यको प्रदर्शनका रूपमा प्रस्तुत गरेको थियो।

तर, यसले पश्चिमी मुलुकहरूको चिन्ता झन् बढाएको छ। विश्लेषकहरूको भनाइमा, चीन, रूस र उत्तर कोरियाबीचको यस्तो नजिकको सहकार्यले युक्रेनविरुद्धको युद्धमा रूसलाई थप बल पुर्‍याउने सम्भावना प्रबल बनेको छ।

ट्रम्पको तर्क

ट्रम्पले चीनलाई दोस्रो विश्वयुद्धका बेला अमेरिकाले गरेको सहयोग र बलिदानलाई स्मरण गराउँदै चीनले त्यतिबेला स्वतन्त्रता पाएको उल्लेख गरेका छन्। तर आज त्यही चीनले अमेरिकाविरुद्ध षड्यन्त्र गरेको उहाँको भनाइ छ।
“हामीले दिएको सहयोगलाई सम्झिनुपर्ने बेला हो, तर उनीहरू उल्टै हाम्रो विपक्षमा लागेका छन्,” उहाँले आफ्नो पोस्टमा भन्नुभएको छ ।

अस्वीकार र प्रतिवाद

तर, पुटिनका शीर्ष सहयोगी युरी उशाकोभले ट्रम्पको आरोपलाई अस्वीकार गर्नुभएको छ । उहाँलेपरेडमा देखिएको सहकार्यलाई सामान्य कूटनीतिक अभ्यास मात्रै बताउँदै “तीन नेताबीच कुनै षड्यन्त्र छैन” भन्नुभएको छ ।

यद्यपि, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने यो सहकार्यलाई रणनीतिक चेतावनीका रूपमा लिएका छन्। उहाहरूका मूल्यांकनअनुसार, चीन–रूस–उत्तर कोरियाबीचको साझेदारीले युक्रेन युद्धमा पश्चिमी मुलुकलाई चुनौती दिने र विश्व राजनीतिमा नयाँ शक्ति समीकरण सिर्जना गर्ने संकेत दिएको छ।

ट्रम्पको यस आरोपले फेरि पनि विश्व राजनीतिमा अमेरिकाविरुद्ध उभिएका मुलुकहरूको सहकार्यलाई चर्चा र विवादको केन्द्रमा ल्याएको छ। चीन, रूस र उत्तर कोरियाको नजिकिँदो सम्बन्धले आगामी दिनमा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई कसरी प्रभाव पार्छ भन्ने विषय अझै अन्तर्राष्ट्रिय राजनीति विश्लेषकको मुख्य चासो बन्ने देखिन्छ।

Advertisement