श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ

Advertisement

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेलाई सरकारी कोष दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ।

क्रिमिनल इन्भेस्टिगेसन डिपार्टमेन्ट (CID) ले उनलाई पक्राउ गरेको छ। उनीमाथि सन् २०२३ मा लन्डनस्थित युनिभर्सिटी अफ उल्भरह्याम्प्टनमा आफ्नी पत्नी मैथ्री विक्रमासिंघेको दीक्षान्त समारोहमा सहभागी हुन जाँदा सरकारी कोषबाट भ्रमण खर्च व्यहोरेको आरोप लागेको छ। मैथ्री त्यतिबेला सो विश्वविद्यालयमा प्रोफेसरको भूमिकामा कार्यरत थिइन्।

आधिकारिक पुष्टि अझै नभएको

७६ वर्षीय विक्रमासिंघेलाई पक्राउ गरिएकोबारे श्रीलंकाली प्रहरी प्रशासनले भने अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन। त्यस्तै, पूर्वराष्ट्रपतिका तर्फबाट कार्यरत कार्यालयले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। फाइनान्सियल टाइम्स ले रोयटर्सलाई उद्धृत गर्दै यसबारे उल्लेख गरेको छ। तर, श्रीलंकाली सञ्चारमाध्यमहरूका अनुसार उनलाई हिरासतमा लिएपछि चार घण्टाभन्दा लामो बयान लिइएको बताइएको छ।

राजनीतिक करियर

पेसाले कानुन व्यवसायी रहेका रनिल विक्रमासिंघे श्रीलंकाको राजनीतिमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुन्। उनले देशमा ६ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २९ वर्षको उमेरमै सन् १९७८ मा युवा मन्त्री बनेका उनी पछि पछाडि कहिल्यै फर्केर हेर्नुपरेन। सन् १९९४ मा उनले संयुक्त राष्ट्रिय पार्टी (UNP) को नेतृत्व ग्रहण गरेका थिए।

अन्तर्राष्ट्रिय ध्यान

उनको पक्राउलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ठूलो चासो देखाएका छन्। श्रीलंकाले विगत केही वर्षदेखि आर्थिक तथा राजनीतिक संकटको सामना गरिरहेको अवस्थामा पूर्वराष्ट्रपतिलाई सरकारी कोष दुरुपयोग प्रकरणमा पक्राउ गर्नु महत्वपूर्ण घटनाक्रम मानिएको छ।

यो घटनाले श्रीलंकाको आन्तरिक राजनीति मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत राजनीतिक विश्वासनीयता र पारदर्शिताको प्रश्न उठाउने सम्भावना छ।

spot_img