
अष्ट्रेलियाको चर्चित सनस्क्रिन ब्रान्ड अल्ट्रा भायोलेट (Ultra Violette) ले आफ्नो एउटा उत्पादनलाई बजारबाट फिर्ता लिने निर्णय गरेको छ। कम्पनीले ग्राहकको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै उक्त उत्पादन खरिद गर्ने सबैलाई रकम फिर्ता गर्ने घोषणा पनि गरेको छ।
परीक्षणमा ठूलो अन्तर
उत्पादन Lean Screen SPF 50+ Mattifying Zinc Skinscreen को परीक्षण नतिजामा गम्भीर असमानता देखिएपछि कम्पनीले यस्तो कदम चालेको हो। केही महिनाअघि उपभोक्ता अधिकार संस्थान Choice ले गरेको परीक्षणले उक्त सनस्क्रिनले दाबी गरेजस्तो SPF 50+ सुरक्षाको सट्टा मात्र SPF 4 स्तरको सुरक्षा दिएको दाबी गरेको थियो।
त्यतिबेला Ultra Violetteले उक्त दाबीलाई अस्वीकार गर्दै थप स्वतन्त्र परीक्षण गर्ने प्रतिबद्धता जनाएको थियो। तर पछिल्लो परीक्षणमा अझै ठूलो असमानता देखिएको छ। विभिन्न स्वतन्त्र प्रयोगशालामा गरिएको परीक्षणले SPF ४, १०, २१, २६, ३३, ६०, ६१ र ६४ जस्ता फरक–फरक नतिजा देखाएको कम्पनीले पुष्टि गरेको छ।
कम्पनीको माफी
संस्थापक Rebecca Jefferd र Ava Matthewsले संयुक्त वक्तव्य जारी गर्दै उत्पादन कम्पनीको स्तरभन्दा तल पुगेकोमा ग्राहकसँग माफी माग्नुभएको छ ।
“हाम्रो पहिलो जिम्मेवारी सधैं तपाईंको सुरक्षा र स्वास्थ्य हो। तर यसपटक उत्पादनले हाम्रो स्तर पूरा गर्न सकेन। यसका लागि हामी गहिरो रूपमा क्षमाप्रार्थी छौं,” वक्तव्यमा उल्लेख छ।
तत्काल फिर्ता र नयाँ कदम
Ultra Violetteले Lean/Velvet Screen लाई बजारबाट तत्काल फिर्ता गर्ने र सबै ग्राहकलाई कहाँबाट खरिद गरिएको भए पनि रकम फिर्ता गर्ने घोषणा गरेको छ। यो उत्पादन प्रमुख रिटेल स्टोरहरू Sephora र Adore Beauty मा समेत बिक्री भइरहेको थियो।
कम्पनीले उक्त उत्पादन बनाउने तेस्रो पक्षको म्यानुफ्याक्चररसँग अब काम नगर्ने र नयाँ परीक्षण प्रयोगशालासँग मात्र सहकार्य गर्ने घोषणा गरेको छ। साथै भविष्यमा हरेक १८ महिनामा नियमित परीक्षण गर्ने प्रतिबद्धता पनि गरेको छ।
अन्य उत्पादन सुरक्षित
अल्ट्रा भायोलेटले SPF मा देखिएको समस्या केवल Lean Screen मा मात्र रहेको र अन्य उत्पादनमा पुनः परीक्षण गर्दा कुनै समस्या नभएको दाबी गरेको छ।
नियामकमा प्रश्न
Choice का CEO Ashley de Silvaले यो घटनाले अष्ट्रेलियामा सनस्क्रिन परीक्षण र नियमनमा गम्भीर समस्या रहेको पुष्टि भएको बताउनुभएको छ।
“अष्ट्रेलियामा तीन मध्ये दुई जना मानिसलाई छालाको क्यान्सर हुने जोखिम हुन्छ। यस्तो अवस्थामा ग्राहकले पाउने सनस्क्रिनको SPF दाबी विश्वसनीय र सटीक हुनु अपरिहार्य छ,” उहाले भन्नुभयो।
उहाले Therapeutic Goods Administration (TGA) लाई यसबारे तत्काल अद्यावधिक जानकारी दिन र परीक्षण प्रणाली सुधार गर्न आग्रह गर्नुभएको छ ।
