
सिड्नी (अष्ट्रेलिया) – करिब ८७० मिलियन डलर लागतमा निर्माण गरिएको सिड्नीको Allianz Stadium (अलायन्ज स्टेडियम) को खेल मैदान तीन वर्षमै पूर्णरूपमा मर्मत गर्नुपर्ने भएको छ। हालै गरिएको अनुसन्धानमा मैदानको घाँस तथा सतहमा पानी ननिस्किने समस्या देखिएपछि मैदानलाई पुनः निर्माण गर्ने तयारी भएको हो।
भारी वर्षाका बेला मैदान अत्यधिक पानीले भरिने र खेलमैदानभन्दा दलदलजस्तो देखिने गरेको निष्कर्ष सार्वजनिक भएको छ। यसले खेलाडीहरूलाई ठूलो असुविधा पुर्याएको छ। गत वर्ष फुलब्याक क्लिन्ट गुथर्सन ले यस मैदानलाई “मैले लामो समय खेलेका मध्ये सबैभन्दा खराब मैदानमध्ये एक” भनेर टिप्पणी गर्नुभएको थियो।
सतहमा प्राविधिक समस्या
Venues NSW ले गरेको अध्ययनअनुसार निर्माणका बेला राखिएको बालुवाको निकास तह (sand drainage layer) मा अत्यधिक माटो (clay) र सूक्ष्म कण (silt) मिसिएको कारण पानी निकास गर्ने क्षमता अत्यन्त कमजोर भएको पाइएको छ।
सामान्यतया मैदानको निकास क्षमता प्रति घण्टा ३०० देखि ६०० मिलिमिटर हुनुपर्नेमा अहिले मात्र ४० मिलिमिटर रहेको छ।
सरकारको प्रतिक्रिया
न्यू साउथ वेल्स (NSW) का प्रिमियर क्रिस मिन्स ले मैदानको सतह अपेक्षित स्तरमा नपुगेको स्वीकार गर्दै भने, “स्टेडियम अन्य सबै हिसाबले उत्कृष्ट छ, दर्शकहरूले यसलाई मन पराएका छन्। तर सतहले भने खेल टिमलाई निराश तुल्याएको छ।”
मिन्सले मर्मत खर्च करदाताले व्यहोर्नु नपर्ने स्पष्ट पारे। उनले भने, “यो अझै वारेन्टीभित्र छ। स्टेडियम नयाँ भएकाले निर्माण कम्पनीले नै यसलाई मर्मत गर्ने अपेक्षा गरिएको छ।”
मर्मतको समयसीमा
सप्टेम्बर १३ देखि सुरु हुने मर्मत कार्य करिब १० हप्तासम्म चल्ने अनुमान गरिएको छ। सो अवधिमा दूषित बालुवालाई प्रतिस्थापन गरिनेछ।
डिसेम्बरमा हुने दुई ठूला कन्सर्टका लागि स्टेडियम तयार पारिनेछ भने नयाँ घाँस (turf) जनवरीमा Sydney FC का पहिलो घरेलु खेलहरूका लागि प्रयोगयोग्य हुने गरी प्रतिस्थापन गरिनेछ।
विश्वस्तरीय मापदण्डमा पुर्याउने लक्ष्य
प्रिमियर मिन्सले थप्नुभयो, “हामी चाहन्छौं, स्टेडियमको मैदान पनि दर्शकदीर्घाजस्तै उत्कृष्ट बनोस्। यो देशकै मात्र होइन, विश्वकै उत्कृष्ट स्टेडियममध्ये एक हो, त्यसैले मैदानले पनि सोही स्तर कायम राख्नुपर्छ।”
