जंगली भाले हात्तीको हत्या बढ्दा प्रजनन संकटको चेतावनी

spot_img

नेपालमा हरेक वर्ष जंगली भाले हात्ती मारिने क्रम बढ्दै जाँदा यसको दीर्घकालीन असर प्रजनन प्रणालीमा पर्ने भन्दै विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा ‘Elephant Ecology’मा पीएचडी गरेका डा. अशोककुमार रामका अनुसार, जंगली भाले हात्ती नहुँदा प्रजनन केन्द्रको उद्देश्य नै समाप्त हुने खतरा देखिएको छ। उहाको अनुसार, सौराहाको प्रजनन केन्द्रमा निजी हात्तीलाई समेत जंगली भालेले प्रजनन गराउने पाइएको छ। यदि यी भाले हात्ती नै सकिए भने प्रजनन केन्द्रको अर्थ रहदैन । हात्तीलाई निहीत स्वार्थका लागि मार्नु पर्यावरण र जैविक प्रणाली दुवैका लागि हानिकारक हुन्छ।

उँहाका अनुसार पछिल्ला १५ वर्षमा ५८ वटा हात्ती मानवीय कारणले मारिएका छन्। संरक्षणकर्मी डा. बाबुराम लामिछानेका अनुसार, पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म हरेक वर्ष हात्ती मारिने घटना बढ्दै गएको छ। गत वर्ष मात्र १२ वटा हात्ती मारिएका थिए, जसमा अधिकांश जंगली भाले हात्ती थिए।

नेपालमा करिब २०० जंगली हात्ती मात्रै रहेको अनुमान छ। डा. लामिछाने भन्नुहुन्छ, “हरेक महिना एक–एक भाले हात्ती मारिँदै जाने हो भने भविष्यमा हात्ती जोगाउन गाह्रो हुनेछ।” उँहाले सामाजिक सञ्जालमा हात्ती मृत्युसम्बन्धी समाचार सेयर गर्दै प्रश्न गर्नु भएकोछ — “के हाम्रो पुस्ताले हात्ती जोगाउनै नसक्ने हो?”

प्रजननमा जंगली भाले हात्तीको भूमिका
जंगली भाले हात्ती प्रायः आफ्नो समूहबाट छुट्टिएर पोथीको खोजीमा लामो दूरी यात्रा गर्छन्। चितवनको सौराहा प्रजनन केन्द्रमा रहेका पोथी हात्तीहरूसँग पनि यिनको संसर्ग हुने गरेको छ। रोनाल्डो, ध्रुवे, र गोविन्दे नामका जंगली हात्तीले यहाँका धेरै पोथीसँग प्रजनन गरेका छन्।

प्रजनन केन्द्रका अनुसार, निकुञ्जमा पालिएका भाले हात्तीबाट प्रजनन गराउन सकिँदैन, किनकि यसरी प्रजनन गराइएका हात्ती काममा प्रयोग गर्न असहज हुन्छन् र माहुतेलाई आक्रमण गर्ने सम्भावना बढी हुन्छ।

संरचना अवरोध र मानव–हात्ती द्वन्द्व
पोथीको खोजीमा हिँड्दा मान्छेसँगको सम्पर्कमा आएका भाले हात्ती कहिले मान्छेले मर्ने, कहिले मान्छेले हात्ती मार्ने घटना हुन्छ। डा. रामले हात्ती हिँड्ने पुराना जैविक मार्गमा बनेका संरचना र बस्ती हटाउन सुझाव दिनु भएको छ, जसले द्वन्द्व घटाउन र दुवै पक्षलाई फाइदा पुर्‍याउन सक्छ।

उँहाका अनुसार, २०६७ देखि २०७४ सम्म झापा, पर्सा र चितवन करिडोर हुँदै आएका १७ मध्ये १६ वटा जंगली हात्ती मारिएका छन्। २०७७ देखि २०८० सम्मको अवधिमा पाँच भाले हात्ती सौराहातिर आएका थिए, जसमा दुई फर्किएका छन्। उक्त समूहको मकुना नामक भाले हात्तीलाई २०८१ माघ २३ गते नेपाली सेनाले गोली हानी मारेको थियो, जब उसले सुरक्षाकर्मी र निकुञ्ज कर्मचारीमाथि आक्रमण गरेको थियो।

डा. लामिछाने चेतावनी दिनुभयो, “यदि यो दरमा हात्ती मारिँदै जाने हो भने नेपालमा हात्ती एक हजारको नोटमा मात्र सीमित रहनेछन्।”

वर्तमान अवस्था
चितवन राष्ट्रिय निकुञ्जमा हाल छावासहित ५८ वटा हात्ती छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषमा ५ र सौराहामा निजीस्तरमा पालिएका ४५ वटा हात्ती रहेका छन्। विज्ञहरूले दीर्घकालीन संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम, अवरोध हटाउने काम, र कडाइका साथ हात्ती हत्या रोक्ने कदम चाल्न सरकारलाई आग्रह गर्नुभएको छ।

spot_img