
प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा परेर बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल पुगेका छन्। इजरायली सरकारले विपिनको रिहाइको मुद्दालाई संयुक्त राष्ट्रसंघसम्म लैजाने तयारी गर्दै उनीहरूलाई सोमबार तेलअविवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष स्वागत गरेको हो।
स्वागतका क्रममा इजरायली विदेश मन्त्रालयका उच्च अधिकारीहरू, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका लागि पूर्वराजदूत हानन गोदारसहितका प्रतिनिधिहरू उपस्थित थिए। विमानस्थलमा उपस्थित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूसँग कुरा गर्दै विपिनकी आमा पद्माले आँखामा आँसु रोक्दै आफ्नो छोराको सुरक्षित रिहाइका लागि सहयोगको भावुक अपिल गरिन्। उनले भनिन्, “म मेरो छोरो विपिनलाई लिन आएकी हुँ। मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्, सबैमा विनम्र अनुरोध छ।” त्यस्तै, विपिनकी बहिनी पुष्पाले पनि दाजुको रिहाइका लागि विनम्र आग्रह गर्दै भनिन्, “मेरो दाजु पढ्नका लागि आउनु भएको थियो। हाम्रो कसैसँग दुश्मनी छैन। उहाँलाई विनासित्ती नराख्नुस्। हामी उहाँलाई लिन टाढा नेपालबाट आएका हौं।”
२२ वर्षीय विपिन जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीका बासिन्दा हुन्। उनी कृषि विषयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। तर, ७ अक्टोबर २०२३ मा हमासले दक्षिण इजरायलको किबुजमा आक्रमण गर्दा उनी बेपत्ता भएका थिए। सो दिनको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनसहित २५१ जनालाई हमासले बन्धक बनाएको थियो। युद्धविरामका क्रममा केही बन्धकहरूलाई हमासले मुक्त गरे पनि विपिन अझै पनि उनीहरूको कब्जामा रहेका छन्। नेपाल सरकारले उनको रिहाइका लागि निरन्तर कूटनीतिक पहल गर्दै आएको छ, तर अहिलेसम्म उनको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त भएको छैन। इजरायली विदेश मन्त्रालयका अनुसार, विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघको कार्यालयमा उपस्थित गराई अन्तर्राष्ट्रिय समुदायमा विपिनको रिहाइका लागि दबाब बढाउने योजना बनाइएको छ।
यसअघि उनीहरूलाई इजरायलका प्रधानमन्त्री, रक्षामन्त्री, सेना प्रमुख र हमासविरुद्धको कारबाहीमा संलग्न उच्च कमान्डरहरूसँग भेट गराउने तयारी छ। साथै, विपिनलाई बन्धक बनाइएको दक्षिण इजरायलको उक्त किबुजमा लगेर घटनाबारे प्रत्यक्ष जानकारी गराउने कार्यक्रम पनि बनाइएको छ। यस भेट र अन्तर्राष्ट्रिय तहमा हुने पहलले विपिनको सुरक्षित रिहाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ, भने परिवारको आशा भने अझै पनि विपिनलाई सकुशल घर फर्काउनमा केन्द्रित छ।






