सिड्नी विमानस्थलमा ‘इनकमिङ पासेन्जर कार्ड’ अब डिजिटल रूपमा

Advertisement

सिड्नी — अष्ट्रेलियाको अन्तर्राष्ट्रिय यात्रामा वर्षौंदेखि प्रयोग हुँदै आएको कागजी Incoming Passenger Card (IPC) अब क्रमशः हट्दै जाने तयारीमा छ।अष्ट्रेलियाको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय टर्मिनल सिड्नी विमानस्थलमा बुधबारदेखि यसको डिजिटल संस्करणको परीक्षण सुरु गरिएको हो।

हाल यो परीक्षण Qantas का अकल्याण्ड र क्विन्सटाउन (न्यूजिल्यान्ड) बाट सिड्नी उडान गर्ने यात्रुका लागि मात्र लागू छ। यात्रुले उडान अघि Qantas एपमार्फत अनलाइन घोषणा फारम भर्नुपर्नेछ। सिड्नीमा अवतरण भएपछि उनीहरूले QR कोड भएको डिजिटल पास प्राप्त गर्नेछन्, जसलाई सीमा सुरक्षा तथा जैविक सुरक्षा अधिकारीहरूले स्क्यान गरेर जाँच गर्नेछन्।

सम्पर्करहित यात्रातर्फको कदम

यो पहल अष्ट्रेलियाको सम्पर्करहित (contactless) हवाई यात्रा प्रविधितर्फको महत्वपूर्ण अग्रसर हो। यसमा डिजिटल प्रमाणपत्र र facial recognition प्रयोगमार्फत यात्रु अनुभवलाई अझ सहज र छिटो बनाउने लक्ष्य राखिएको छ। Qantas अष्ट्रेलियाको पहिलो एयरलाइन बनेको छ जसले परम्परागत कागजी कार्डको सट्टामा डिजिटल प्रणाली सुरु गरेको हो।

Qantas का अन्तर्राष्ट्रिय तथा कार्गो प्रमुख Cam Wallace ले यसलाई “आगमन प्रक्रियालाई सरल बनाउने महत्वपूर्ण कदम” भनेका छन्। उनका अनुसार, ब्रिस्बेन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्ष अक्टोबरदेखि भइरहेको यस्तै परीक्षणमा ७०,००० भन्दा बढी यात्रुले भाग लिएका छन् र प्रतिक्रिया “अत्यन्तै सकारात्मक” रह्यो।

spot_img

मन्त्रीहरूको प्रतिक्रिया

गृह तथा आप्रवासन मन्त्री Tony Burke का अनुसार, “अष्ट्रेलियाको सबैभन्दा व्यस्त विमानस्थलमा यो विस्तार हुनुको अर्थ, हरेक दिन सयौँ यात्रुले अझ सहज र छिटो यात्रा अनुभव पाउनेछन्।”
कृषि, मत्स्य तथा वन मन्त्री Julie Collins ले भने यो प्रणालीले यात्रु भन्सार प्रक्रियालाई सरल बनाउँदै सीमामा बलियो जैविक सुरक्षा कायम राख्ने बताइन्।

विस्तारको सम्भावना

अष्ट्रेलियन बोर्डर फोर्स (ABF) का अनुसार, परीक्षण सफल भए अन्य Qantas उडानमा र चरणबद्ध रूपमा अन्य विमानस्थलहरूमा पनि सेवा विस्तार गरिनेछ। तर, अन्य एयरलाइन वा न्यूजिल्यान्ड बाहेकका अन्तर्राष्ट्रिय उडानमा कहिले लागू हुने भन्नेबारे भने अझै निर्णय भएको छैन।

कानुनको व्यवस्था

ABF को वेबसाइटअनुसार, अष्ट्रेलियाली नागरिकले Incoming Passenger Card पूरा नगरे सजाय भोग्नुपर्नेछ। गैर-अष्ट्रेलियाली नागरिकले यो प्रक्रिया पूरा नगरेमा प्रवेश अनुमति नपाउने वा अन्य कानुनी कारबाही भोग्नुपर्नेछ।

यो डिजिटल प्रणालीले यात्रुहरूको समय बचत गर्ने, प्रक्रियालाई छिटो बनाउने र कागजी कार्डको झन्झट हटाउने अपेक्षा गरिएको छ। यसले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रा अनुभवलाई अझ प्रविधिमैत्री बनाउने विश्वास लिइएको छ।

spot_img