काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माइ शो’ को पछिल्लो एपिसोडको विवाद सेलाएको छैन । त्यसमा उठाइएको विषयवस्तुलाई लिएर थुप्रै सेलिब्रेटी र दर्शकहरुले आपत्ति जनाइरहेका छन् ।
यसैबीच, ‘इट्स माइ शो’का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले पनि यसबारेमा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यसले आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भएको बताएका छन् । साथै उनले कान्तिपुर टिभी र इट्स माइ शोसँग हाल आफ्नो कुनै संलग्नता नरहेको पनि स्पष्ट पारेका छन्।
सुरजले भनेका छन्, ‘भर्खरै कान्तिपुर टिभीमा सुरज सिंह ठकुरीसँग इट्स माइ शोसँगको सम्बन्धलाई लिएर केही अन्योल भएको छ । म स्पष्ट गर्न चाहन्छु- म अब कुनै पनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रूपमा ।’
सुरजले वर्षौंदेखि दर्शकहरुले देखाएको माया र साथकफ लागि पनि आभार व्यक्त गरेका छन् । आफ्नो करिअरमा दर्शकको प्रोत्साहन प्रमुख शक्ति भएको भन्दै उनले रमाइलोका साथै गर्व गर्नलायक सामग्री ल्याउने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
‘म यति मात्र भन्न चाहन्छु, मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको बफादारी ध्वस्त भएको छ । एक टेलिभिजनकर्मीको रुपमा म दु:खी छु,’ उनले लेखेका छन् ।





