सिड्नीमा लिजोनर्स रोगको प्रकोप, एक जनाको मृत्यु

spot_img

सिड्नीमा लिजोनर्स’ रोग (Legionnaires’ disease) को प्रकोप फैलिँदा एक वृद्धको मृत्यु भएको छ भने थप छ जना बिरामी परेका छन्।

NSW Health ले जनाएको अनुसार ८० वर्षको एक पुरुष जुन महिनाको अन्त्यतिर बिरामी परेका थिए, उपचारको क्रममा निधन भएको हो। मृत्यु भएकासहित संक्रमित सबैजना Potts Point क्षेत्रका बासिन्दा हुन्।

हाल संक्रमितमध्ये एक जना अझै अस्पतालमै उपचाररत छन् भने पाँच जना घर फर्किसकेका छन्

स्रोत अझै अज्ञात

South Eastern Sydney Local Health District र City of Sydney का अधिकारीहरूले प्रकोपको स्रोत पत्ता लगाउन अझै अनुसन्धान गरिरहेको बताएका छन्।
संक्रमित सात जना एक–अर्कासँग सम्बन्धित नभएकाले उनीहरू एउटै साझा स्रोत मार्फत संक्रमित भएको आशंका गरिएको छ।

लिजोनर्स’ रोग के हो?

लिजोनर्स’ रोग मानिसबाट मानिसमा सर्दैन। यो रोग Legionella ब्याक्टेरिया मार्फत लाग्छ।
यस ब्याक्टेरियाको सामान्य स्रोतहरूमा ठूलो भवनहरूको छतमा रहने कुलिङ टावरहरू पर्छन्, जहाँ दूषित पानीको कारण संक्रमण फैलिन सक्छ।

रोगका लक्षणहरूमा ज्वरो, चिसो लाग्ने, खोकी, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छन्। गम्भीर अवस्थामा यसले निमोनिया पनि गराउन सक्छ।

अधिकारीहरूको अपील

South Eastern Sydney Local Health District की डा. भिकी शेप्पार्डले भवनधनी र स्थानीयवासीलाई सचेत रहन आग्रह गर्दै भन्नुभयो—
“जुन महिनादेखि सुरु भएको अनुसन्धानअन्तर्गत जिल्लाले भवन मालिकहरूलाई दुई पटकसम्म कुलिङ टावर सफा र डिसइन्फेक्ट गर्न अनुरोध गरिसकेको छ। Potts Point वरिपरिको क्षेत्रमा हालै गएका र यस्ता लक्षण देखिएका व्यक्तिहरूले तुरुन्त GP वा आपतकालीन कक्ष (Emergency Department) मा जानुपर्छ।”

अधिकारीहरूले अझै पनि स्रोत पत्ता लगाउने प्रयास जारी राखेका छन्। स्वास्थ्य विशेषज्ञहरूले यसलाई गम्भीर प्रकोपको रूपमा लिएर स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरेका छन्।

यो रोग मानिसबाट मानिसमा नसरिने भएकाले घबराउनु आवश्यक छैन, तर लक्षण देखिए तुरुन्त स्वास्थ्य जाँच गर्न विशेषज्ञहरूले सुझाव दिएका छन्।

spot_img