ड्रेकको अष्ट्रेलिया र न्यूजिल्यान्ड टुर स्थायी रूपमा रद्द

spot_img

सिड्नी । क्यानाडियन र्‍यापर ड्रेकले अष्ट्रेलिया र न्यूजिल्यान्डमा आयोजना हुने बाँकी सबै कन्सर्ट आधिकारिक रूपमा रद्द गरेका छन्।

गत फेब्रुअरीमा सुरु भएको उनको विश्वव्यापी ‘एनीटा म्याक्स विन टुर’ अन्तर्गत १६ वटा कार्यक्रम आयोजना हुने तालिका थियो। तर, ब्रिस्बेन, सिड्नी र अकल्यान्डसहितका चार शो केही महिनाअघि तालिकागत असजिलो (scheduling conflict) का कारण स्थगित भएका थिए। त्यसबेला ड्रेकको व्यवस्थापन टोलीले ती मिति फेरि तोक्ने र थप शोहरू थप्ने तयारी भइरहेको जनाएको थियो।

तर, लाइभ नेसन अष्ट्रेलियाले हालै जारी गरेको विज्ञप्तिमा अब ती सबै कार्यक्रम रद्द भएको पुष्टि गर्दै भनिएको छ, “पहिले स्थगित गरिएका ड्रेकका अष्ट्रेलिया र न्यूजिल्यान्डका शोहरू अब आधिकारिक रूपमा रद्द भएका छन्। निकै प्रयास गरे पनि आवश्यक समयभित्र पुनः तालिका मिलाउन सकिएन।”

यससँगै कम्पनीले टिकट खरिद गरेका दर्शकहरूलाई पूर्ण रकम फिर्ता गरिने जानकारी पनि दिएको छ।

यद्यपि, ड्रेकको व्यवस्थापन पक्षले अष्ट्रेलियाली दर्शकलाई आश्वासन दिँदै, उनको तालिका मिल्नेबित्तिकै अष्ट्रेलिया र न्यूजिल्यान्डमा फर्केर प्रदर्शन गर्ने प्रतिबद्धता जनाएको छ।

ड्रेकले आफ्नो टुर यसअघि फेब्रुअरीमा पर्थबाट सुरु गरेका थिए। त्यसपछि मेलबर्न, सिड्नी र ब्रिस्बेनमा कार्यक्रम सम्पन्न गरेका थिए। एयर ट्र्याकिङ वेबसाइटका अनुसार, ब्रिस्बेनमा अन्तिम शो सम्पन्न गरेपछि ड्रेकको निजी विमान फिजीको नाडीतर्फ गएको देखिएको छ।

यसअघि पनि ड्रेकको टुर विभिन्न कारणले चर्चा र विवादमा आउने गरेको छ। यो पटकको कार्यक्रम रद्दले अष्ट्रेलिया र न्यूजिल्यान्डमा रहेका उनका प्रशंसकलाई निराश तुल्याएको छ।

Advertisement