पूर्व AFL अम्पायर ट्रोय प्यानल अदालतको आदेश उल्लङ्घन गर्दा जेल

spot_img

मेलबर्न । अष्ट्रेलियन फुटबल लिग (AFL) का पूर्व अम्पायर ट्रोय प्यानललाई अदालतको आदेश उल्लङ्घन गरेको आरोपमा ११ हप्तासम्म कैद सजाय सुनाइएको छ।

प्यानलले आफ्ना सम्पत्ति विवरण प्रस्तुत गर्न अदालतले दिएको आदेश मान्न अस्वीकार गरेकाले र सम्पत्ति फ्रीज गर्ने आदेश उल्लङ्घन गरी सम्पत्ति बिक्री तथा बाँडफाँड गरेका कारण उनलाई अदालतले ‘अवमानना (contempt of court)’ को दोषी ठहर गरेको हो।

१६ वर्ष लामो अम्पायर करिअरपछि शिपिङ उद्योगमा कार्यरत प्यानललाई जुन २०२४ मा सीरोड शिपिङ (SeaRoad Shipping) मा ठगी अनुसन्धानका क्रममा निलम्बन गरिएको थियो। कम्पनीले उनलाई र उनको कम्पनी इन्डिपेन्डेन्ट कन्टेनर सर्भेयर एण्ड एसेसर्स (ICSA) लाई अदालतमा मुद्दा हालेको थियो।

न्यायाधीश एन्ड्र्यु वाट्सनले मे महिनामा प्यानललाई चार वटा अवमाननाको आरोपमा दोषी ठहर गरेका थिए। उनले अदालतको आदेशअनुसार सम्पूर्ण सम्पत्तिको विवरण दिने सट्टा झुट्टा वा अधूरा विवरण दिएका थिए। साथै, अदालतले उनको सम्पत्ति फ्रीज गरेर ८.७ मिलियन डलरभन्दा कम नहुने गरी सम्पत्ति सुरक्षित राख्न आदेश दिएको भए पनि उनले आदेश उल्लङ्घन गर्दै एक घोडी बिक्री गरेका र एक साथीलाई १० हजार डलर नगद दिएका थिए।

न्यायाधीश वाट्सनले भने, “यस किसिमको अवज्ञा पूर्ण रूपमा जानाजानी गरिएको हो, जसले न्याय प्रशासनमा गम्भीर असर पारेको छ।” उनले थपे, “छ महिनासम्म सम्पत्ति विवरण नदिँदा वादी पक्षसँग प्रतिवादीको सम्पत्ति स्थिति बारे स्पष्ट तस्वीर प्राप्त भएन।”

प्यानलले १८ जुलाईमा बाँकी दुई आरोपमा दोषी स्वीकार गरेका थिए। सजाय एकैपटक (concurrent) काटिने भएकाले उनले पहिले बिताएको ५४ दिन कैद सजायमा गणना हुनेछ।

प्यानलले आफ्नो करिअरमा २०० भन्दा बढी AFL खेलमा अम्पायरिङ गरेका थिए। सन् २०१६ मा उनले एउटा खेलमा वेस्टर्न बुलडग्सलाई १७ पटक फ्री किक दिँदा विवादमा तानिएका थिए। २०१४ मा खेलका क्रममा उनी गम्भीर चोटपटक पर्दै मैदानबाट स्ट्रेचरमा बाहिरिनुपरेको थियो। सन् २०१९ मा शारीरिक समस्याका कारण उनले अम्पायरिङबाट अवकाश लिएका थिए।

spot_img