डरलाग्दो तर मोहक ‘लाबुबु डल’ सामान्य खेलौनाबाट किन विश्वव्यापी ट्रेन्डसम्म

Advertisement

ठूला आँखा, तिखा दाँत, लामो कान र अनौठो मुस्कान । पहिलो नजरमै डर लाग्ने तर फेरि हेर्दै जाँदा आकर्षक लाग्ने यस्तो पात्र अहिले विश्व बजार तताइरहेको छ। ‘लाबुबु डल’ नामले चिनिने यो खेलौना हाल सामाजिक सञ्जालदेखि फेसन ट्रेन्डसम्म छाएको छ।

सन् २०१५ मा हङकङका कलाकार कासिङ लुङले आफ्नो ‘द मन्स्टर्स’ नामक चित्र पुस्तकका लागि कोरेको पात्र नै पछि लाबुबु डल बनेर विश्वभर चर्चामा आयो। सन् २०२३ मा चिनियाँ खेलौना निर्माता कम्पनी पप मार्ट ले यसलाई पहिलो पटक बजारमा उतारेको थियो। कम्पनीले यसलाई ब्लाइन्ड बक्स ढाँचामा बेच्न थालेपछि लोकप्रियता चुलिएको हो। यो शैलीमा ग्राहकले बक्स नखोलीभएसम्म कुन खेलौना भित्र छ भन्ने पत्ता पाउँदैनन्, जसले खरिदलाई रोमाञ्चक बनाउँछ।

सामाजिक सञ्जालको भूमिका

लाबुबु विश्वव्यापी बन्नुमा सामाजिक सञ्जालले ठूलो योगदान दियो। मानिसहरूले आफूलाई परेको डलको फोटो वा भिडियो टिकटक, इन्स्टाग्राम र फेसबुकमा शेयर गर्न थाले। त्यसपछि नकिन्नेहरू पनि आकर्षित भई लाबुबु खोज्न थाले।

यो ट्रेन्डलाई अझ बलियो बनाउन २०२४ मा कोरियन ब्यान्ड ब्ल्याकपिङ्क की गायिका लिसाले आफ्नो इन्स्टाग्राममा लाबुबुसहितको तस्बिर पोस्ट गरिन्। त्यसपछि रिहाना, किम कार्दाशियन, डेभिड बेकहमलगायतका सेलिब्रेटीहरूले यसलाई ब्याग वा फेसन एक्सेसरीका रूपमा प्रयोग गर्न थाले।

विशेषता र भौतिक स्वरूप

लाबुबुलाई नरम र फ्लफी सामग्रीले बनाइएको छ, जसलाई प्लस टेडी पनि भनिन्छ। गुलाबी, बैजनी, हरियो लगायत पेस्टल शेडका रङमा उपलब्ध यो डललाई ठूला आँखा र विचित्र मुस्कानले अझ अनौठो बनाउँछ। अहिले बजारमा सामान्य, सीमित र सेलिब्रिटी संस्करणसहितका विभिन्न मोडल उपलब्ध छन्। कतिपय संस्करणमा बत्ती वा आवाजसमेत राखिएका छन्, जसका कारण तिनीहरू सङ्कलनकर्ताबीच दुर्लभ र मूल्यवान् मानिन्छन्।

spot_img

चर्को मूल्य र ‘स्टेटस सिम्बल’

बीबीसीका अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा मात्रै करिब ४० करोड अमेरिकी डलर बराबरको लाबुबु डल बिक्री भएको छ। बजारमा यसको मूल्य ५ हजारदेखि १ लाख रुपैयाँसम्म पर्छ भने सीमित संस्करणहरू लाखौँ रुपैयाँमा कारोबार भइरहेका छन्। केही समयअघि मात्र एउटा लाबुबु डल १ करोडभन्दा बढीमा बिक्री भएको समाचार सार्वजनिक भएको थियो। यसले यो डललाई केवल खेलौना नभई ‘स्टेटस सिम्बल’ र लगानीको वस्तु पनि बनाएको छ।

विवाद र आलोचना

लोकप्रियतासँगै विवाद पनि उत्तिकै बढेका छन्। कतिपयले यसको डरलाग्दो रूपका कारण यसलाई ‘शैतान’सँग जोडेर व्याख्या गर्ने गरेका छन्। कतिले आफ्ना डल जलाउने वा फ्याँक्ने भिडियो सामाजिक सञ्जालमा हालिरहेका छन्। यद्यपि यस्ता दाबीको कुनै ठोस प्रमाण भने छैन।

नेपालमा पनि भित्रियो

विश्वव्यापी चर्चापछि लाबुबु नेपालमा समेत उपलब्ध भइसकेको छ। टिकटक, फेसबुक र इन्स्टाग्राममा यसको भिडियो र समीक्षा देखिन थालेका छन्। चाहे विक्रेताको प्रचार होस् वा ग्राहकको प्रतिक्रिया, नेपालमा पनि लाबुबु डल लोकप्रिय हुँदै गएको छ।

सांस्कृतिक प्रभाव

लाबुबु डलले युवापुस्ताबीच अनौठा र क्युट वस्तुप्रति आकर्षण बढाएको छ। यसले फेसन र व्यक्तित्वको हिस्सा बनेर सांस्कृतिक रूपमा पनि प्रभाव छोडिरहेको देखिन्छ।

तर, यो ट्रेन्ड कति लामो समयसम्म टिक्छ भन्ने प्रश्न भने अझै खुला छ।

spot_img