
अष्ट्रेलियाको संघीय सरकारले आतिथ्य, पर्यटन र यात्रा क्षेत्रमा तीव्र रूपमा बढिरहेको जनशक्ति अभावलाई समाधान गर्न १० मिलियन डलरको लगानीमा नयाँ अनलाइन रोजगारी प्लेटफर्म ‘eeger’ सार्वजनिक गरेको छ।
सरकारी तथ्यांकअनुसार हाल यी क्षेत्रहरूमा करिब ७ लाख ६ हजार अष्ट्रेलियन कार्यरत छन्, तर सन् २०३३ सम्ममा थप १ लाख ५० हजार जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ।
‘eeger’ ले के गर्छ?
निःशुल्क रूपमा प्रयोग गर्न मिल्ने यो प्लेटफर्मले देशभर होटल, रेस्टुरेन्ट, क्याफे, पब, पर्यटनस्थल तथा सांस्कृतिक केन्द्रहरूमा काम खोज्नेहरू र कर्मचारी आवश्यक पर्ने व्यवसायहरूलाई एकआपसमा जोड्नेछ।
यो प्लेटफर्ममार्फत रोजगारीका अवसरहरू पोस्ट गर्न, तालिम तथा सीप विकासका कार्यक्रम लिन, करियर प्रगति गर्न र प्रत्यक्ष रूपमा रोजगारदाता–श्रमिकबीच सहकार्य गर्न सकिनेछ।
संघीय पर्यटन तथा व्यापार मन्त्री डन फैरेलले भने, “eeger को सुरुआतले अष्ट्रेलियाको भिजिटर इकोनोमीलाई सुदृढ बनाउन ठूलो भूमिका खेल्नेछ। यो उद्योगका लागि राष्ट्रिय स्तरको समाधान हो।”
“उद्योगबाट, उद्योगकै लागि”
eeger की महाप्रबन्धक एमिली होउका अनुसार, “eeger केवल जॉब पोर्टल होइन, यो उद्योगमा आधारित र उद्योगकै आवश्यकता अनुसार निर्माण गरिएको समाधान हो।”
Accommodation Australia सँगको सहकार्यमा बनेको यो प्लेटफर्मले व्यवसायको आकार जस्तो भए पनि सबैलाई सहभागी हुन र लाभ लिन आग्रह गरिएको छ।
Accommodation Australia का प्रमुख कार्यकारी जेम्स गुडविनले भने, “हामीले विभिन्न क्षेत्रसँग मिलेर एक अभिनव र प्रभावकारी प्लेटफर्म निर्माण गरेका छौं, जुन उद्योगकै आवश्यकता पूरा गर्न केन्द्रित छ।”
सरकारको यो पहलले अष्ट्रेलियाको रोजगार बजारमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ, विशेषगरी पर्यटन, यात्रा र आतिथ्य क्षेत्रमा दीर्घकालीन जनशक्ति सुनिश्चित गर्न यो कदम निर्णायक ठहरिने अपेक्षा गरिएको छ।






