मकवानपुरको इन्द्रसरोवरबाट लागुऔषधसहित चार भारतीय नागरिक पक्राउ

spot_img

हेटौंडा — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सडक खण्डमा शनिबार राति सशस्त्र प्रहरी बलको टोलीले विशेष चेकजाँचका क्रममा लागुऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बलले जानकारी दिएको अनुसार, हेटौंडा–भीमफेदी–कुलेखानी सडक हुँदै काठमाडौंतर्फ जाँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडी शंका लागेपछि रोकिनुका साथै जाँच गर्दा गाडीभित्र तीनवटा फल्स बटम (नक्कली भित्री भाग) बनाइएको फेला परेको थियो।

जाँचका क्रममा ती फल्स बटमभित्र लुकाइ ल्याइएको नोफिन २,४०० थान, डायजेपाम २,००४ थान, प्रोमेथाजिन हाइड्रोक्लोराइड २,४०० थानट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५ थान फेला परेका छन्।

प्रहरीका अनुसार, लागुऔषधसहित पक्राउ परेका व्यक्ति भारत घर भएका ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद, र २४ वर्षीय शेख गजुर रहेका छन्। उनीहरूले भारतबाट हेटौंडा हुँदै काठमाडौँतर्फ लागुऔषध तस्करी गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बरामद गरिएको लागुऔषध, प्रयोग गरिएको गाडी र पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय भीमफेदीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले सीमा क्षेत्रमा लागुऔषध तस्करी बढ्दो अवस्थामा रहेको भन्दै सुरक्षा निगरानीलाई अझ कडा बनाइने बताएको छ। साथै, यस घटनाले भारत–नेपाल सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधिबारे थप सतर्कता आवश्यक रहेको संकेत पनि दिएको छ।

spot_img