
अष्ट्रेलियाका विभिन्न हिमाली क्षेत्रहरूमा यो जुलाई महिनामा पछिल्ला केही वर्षको तुलनामा सबैभन्दा बाक्लो हिउँ जमेसँगै स्की प्रेमी र पर्यटकहरू उत्साहित देखिएका छन्। विद्यालय बिदाको मौका पारेर हजारौं परिवार अहिले न्यू साउथ वेल्स र भिक्टोरियाका प्रमुख स्की रिसोर्टहरूमा घुमघाम तथा खेलकुदमा व्यस्त छन्।
गत साता आएको चिसो मौसमी प्रणालीले न्यू साउथ वेल्सको अल्पाइन क्षेत्रमा ४० सेन्टिमिटरसम्म हिउँ जमाएको थियो। विशेषगरी पेरिसर र थ्रेडबो स्की रिसोर्टहरूबीच पर्ने स्पेन्सर्स क्रिक क्षेत्रमा हिउँको गहिराइ १६० सेन्टिमिटर पुगेको मापन गरिएको छ। यो अघिल्लो वर्ष जुलाईको अधिकतम १२४.६ सेन्टिमिटर तथा २०२२ को १३१ सेन्टिमिटरको तुलनामा उच्च हो।
भिक्टोरियाका स्की स्थलमा पनि उत्साहजनक अवस्था
भिक्टोरियास्थित फाल्स क्रीक स्की रिसोर्टमा हिउँ जमाउने मेसिन (Snow Guns) प्रयोगमा ल्याइएको छ। त्यहाँको औसत हिउँको गहिराइ हाल ९४ सेन्टिमिटर रहेको छ। माउन्ट बुलरमा ५४ सेन्टिमिटर प्राकृतिक हिउँसँगै ९३ सेन्टिमिटर कृत्रिम हिउँ रहेको छ भने माउन्ट होथममा हिउँको गहिराइ ९२ सेन्टिमिटर पुगेको छ।
त्यस्तै, थ्रेडबोमा स्की खेलाडीहरूले ८० सेन्टिमिटरको प्राकृतिक हिउँमा खेलको आनन्द लिइरहेका छन्। पेरिसरमा तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झरेको छ र त्यहाँ पनि हिउँको गहिराइ १६० सेन्टिमिटर मापन गरिएको छ।
तास्मानियामा पनि बाक्लो हिमपात, अझै निरन्तर हुने संकेत
चिसो मौसमी प्रणालीले यसपटक मुख्यभूमिलाई भने व्यापक रूपमा छोएको छैन। तर तास्मानियाको उच्च भूभागमा बाक्लो हिमपात भएको मौसम विज्ञहरूले जनाएका छन्। मौसम सेवा प्रदायक वेदरजोनका अनुसार तास्मानियामा आइतबारसम्म ५०० मिटरको उचाइसम्म हिउँ पर्ने सम्भावना रहेको छ।
आगामी दिनहरूमा अझै हिउँ पर्ने पूर्वानुमान
मुख्यभूमिका उच्च क्षेत्रहरूमा भने आगामी साताका लागि तापक्रम केही उकालो जाने अनुमान गरिएको छ। यद्यपि, अर्को सप्ताहन्ततिर पुनः एक चिसो र हिमपातयुक्त प्रणाली सक्रिय हुनसक्ने प्रारम्भिक संकेत देखिएको मौसम विभागले जनाएको छ।
अष्ट्रेलियाको पर्यटन क्षेत्रमा सक्रियता बढाउँदै लिएका यस्ता मौसमी प्रभावहरूले होटल, रेस्टुराँ र स्थानीय व्यवसायमा पनि सकारात्मक प्रभाव पारिरहेको पर्यटन विशेषज्ञहरू बताउँछन्।
