न्यू साउथ वेल्स हिमाली क्षेत्रमा हराइरहेका पाइलटको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

spot_img

सिड्नी, जुलाई १७ — न्यू साउथ वेल्स (NSW) राज्यको स्नोवी माउन्टेन्स क्षेत्रमा हराएको सानो विमानको भग्नावशेष फेला परेको छ। उक्त विमानमा सवार बेगा निवासी वरिष्ठ एकाउन्टेन्ट तथा अनुभवी पाइलट डेभिड स्टेफेन्स रहेका थिए।

७८ वर्षीय स्टेफेन्स मंगलवार, विक्टोरियाको वाङ्गाराटा हवाई मैदानबाट उडेर मोरूया विमानस्थलतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएका थिए। उनी सन् १९६६ को Beechcraft Debonair विमान उडाइरहेका थिए।

प्रहरीका अनुसार, उक्त विमानको अन्तिम लोकेसन स्नोवी माउन्टेन्स क्षेत्रमा पर्ने खान्कोबन नजिक देखिएको थियो। खोजीको क्रममा डर्गल्स ट्रेल नजिकै करिब ५०० मिटर टाढा विमान दुर्घटनाग्रस्त अवस्थामा देखिएको हो।

अप्ठ्यारो भू–परिवेश र खराब मौसमले उद्धारमा बाधा

विक्टोरिया र NSW दुबै राज्यका उद्धारकर्मीहरूले खोजी र उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। तर, खराब मौसम, हिमपात र कठिन भौगोलिक अवस्थाले खोजी कार्य प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

NSW प्रहरीले बुधबार साँझ विमान दुर्घटनाग्रस्त भएको आशंकित स्थान हेलिकप्टरबाट पहिचान गरिएको पुष्टि गरेको छ। अनुसन्धानलाई अहिले प्रहरी नेतृत्वमा पुनः सुरु गरिनेछ।

६ दशक लामो पाइलट जीवन

स्टेफेन्सका परिवारले बुधबार जारी गरेको वक्तव्यमा उनले करिब ६० वर्षदेखि उडान गर्दै आएको र उनले सन् १९६० को दशकमा ड्राइभर लाइसेन्स भन्दा पहिले नै पाइलट लाइसेन्स प्राप्त गरेका थिए भन्ने जनाएका छन्।

“डेभिड सधैं उड्न मन पराउँथे। दुर्भाग्यवश, घर फर्किने क्रममा सम्पर्कविहीन भए। पहाडको मौसम चाँडै फेरिन सक्छ भन्ने बुझाइ हामीसँग छ। सायद उनले मौसम सहज देखेर अघि बढ्ने निर्णय गर्नुभयो होला,” परिवारको भनाइ छ।

उनका नजिकका साथी तथा Frog’s Hollow Flyers का अध्यक्ष टोनी रेट्केले भने, “म मंगलवार डेभिडसँग कुरा गर्दै थिएँ, उनले भनेका थिए– दुई दिनमा भेटौंला। तर हिमाली भूभागमा आपतकालीन अवतरण सम्भव हुँदैन। डेभिड धेरै अनुभवी पाइलट हुनुहुन्थ्यो, तर आकाशमा के परिस्थिति थियो, त्यो त अब मात्र थाहा हुनेछ।”

सेवानिवृत्त हुन दुई महिना बाँकी

परिवारका अनुसार डेभिड स्टेफेन्सले आफ्नो पाइलट जीवनको अन्तिम चरणमा थिए र आगामी दुई महिनामा सेवानिवृत्त हुने योजनामा थिए। “हामी परिवारसँग समय बिताउने योजना बनाइरहेका थियौं,” उनीहरूले भावुक हुँदै भने।

प्रहरीले दुर्घटना र पाइलटको अवस्थाबारे विस्तृत विवरण खोजीपछि मात्र पुष्टि गर्न सकिने जनाएको छ।

spot_img