अष्ट्रेलिया,एडिलेडमा-NRNA SA Presidential Debate 2025 हुँदै – नेतृत्व चयनअघि संयोजक उम्मेदवारहरू प्रत्यक्ष बहसमा

Advertisement

एडिलेड, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अष्ट्रेलियाको आगामी कार्यकालका लागि संयोजक पदमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरूबीच ऐतिहासिक प्रत्यक्ष बहस कार्यक्रम “NRNA SA Presidential Debate 2025” यही २४ जुलाई २०२५साँझ ५:३० बजेFresh Chulho Restaurant, Glandore मा आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना साथी टिभीले गरेको हो।

नेतृत्व चयनको पूर्वसन्ध्यामा आयोजना गरिने यो बहस कार्यक्रमले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई उम्मेदवारहरूको विचार, एजेन्डा र योजना प्रत्यक्ष रूपमा बुझ्न, विश्लेषण गर्न र मुल्यांकन गर्न सक्ने अवसर प्रदान गर्नेछ। आयोजक संस्थाका अनुसार, कार्यक्रमको उद्देश्य समुदायमा सूचना, संवाद र सहभागितामूलक नेतृत्व छनोट प्रक्रियालाई प्रवर्द्धन गर्नु हो। कार्यक्रमले पारदर्शिता, उत्तरदायित्व र समावेशी नेतृत्वप्रति आवश्यक चेतना र बहस उत्पन्न गर्ने अपेक्षा गरिएको छ, जसले NRNA अभियानलाई थप प्रभावकारी, जनमुखी र जवाफदेही बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

उक्त बहसमा संयोजक पदका तीन प्रमुख उम्मेदवार — विनोद बानिया, देवेन्द्र खरेल र थिर गुरुङ — एउटै मञ्चमा उभिएर आ–आफ्ना एजेन्डा, नीति र दृष्टिकोण सार्वजनिकरूपमा प्रस्तुत गर्नेछन्। कार्यक्रम संवादात्मक स्वरूपमा सञ्चालन गरिनेछ, जसमा सहभागीहरूले उम्मेदवारहरूसँग प्रत्यक्ष रूपमा प्रश्न गर्न सक्नेछन्। तथापि, आयोजकका अनुसार कार्यक्रमका सबै प्रश्नहरू उम्मेदवारहरूले सार्वजनिक रूपमा प्रस्तुत गरेका एजेन्डा तथा आगामी NRNA SCC निर्वाचनसँग सम्बन्धित विषयमा सीमित हुनेछन्। व्यक्तिगत रूपमा लक्षित, विवादास्पद वा अनावश्यक प्रश्नहरूको अनुमति नहुने स्पष्ट गरिएको छ।

spot_img

कार्यक्रमको संयोजन तथा सञ्चालन पत्रकार तथा साथी टिभीका निर्देशक बिकेश पौडेलले गर्नेछन्। उनले उम्मेदवारहरूसँग नीति, पारदर्शिता, समावेशीता, र समुदाय प्रतिको उत्तरदायित्व जस्ता महत्वपूर्ण विषयहरूमा केन्द्रित रहेर प्रश्नहरू प्रस्तुत गर्नेछन्। पौडेलले यसअघि पनि नेपाली समुदायमा आधारित विविध सामाजिक, सांस्कृतिक तथा संवादात्मक कार्यक्रमहरूमा सफल संयोजन गरिसकेका छन्।

साथी टिभीले यो बहसलाई नेतृत्व चयनको प्रक्रियालाई अझ सजग, सूचनामूलक र उत्तरदायी बनाउन महत्वपूर्ण माध्यमको रूपमा लिएको छ। संस्थाका तर्फबाट भनिएको छ, “नेतृत्व चयन चेतनाको प्रक्रिया हो। यही चेतनालाई सशक्त बनाउन हामीले यो बहस कार्यक्रम आयोजना गरेका हौं। सूचना, बहस र सहभागिता नै सशक्त नेतृत्वको जग हुन्।”

कार्यक्रममा सम्पूर्ण दक्षिण अष्ट्रेलियावासी नेपाली समुदायलाई खुला निमन्त्रणा दिइएको छ। उपस्थित दर्शकहरूले उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद गर्न सक्ने भएकाले यो बहसले समुदायमा नेतृत्व चयनबारे व्यापक छलफल र सजग निर्णय प्रक्रियालाई बल पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रम विवरणः
📍 स्थान: Fresh Chulho Restaurant, 514 Cross Rd, Glandore SA 5037
🗓 मिति: २४ जुलाई २०२५
🕓 समय: साँझ ५:३० बजे
📺 प्रत्यक्ष प्रसारण: साथी टिभी

यस कार्यक्रममार्फत NRNA SA को भावी नेतृत्व को हुने भन्ने प्रश्नमा समुदाय स्वयं सहभागी भई निर्णय प्रक्रियामा सशक्त भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास गरिएको छ।

spot_img