बाल यौन दुरुपयोग र पशु यौन सामाग्रीको अभियोगमा एनएसडब्लु प्रहरी अधिकृत पक्राउ, धरौटी अस्वीकृत

spot_img

सिड्नी — न्यू साउथ वेल्स (NSW) प्रहरीका एक वरिष्ठ प्रहरी अधिकृतलाई बाल यौन दुरुपयोग तथा पशु यौन सामाग्री राखेको अभियोगमा पक्राउ गरिएको छ। उनीमाथि प्रहरीको गोप्य कम्प्युटर प्रणालीमा अवैध पहुँच, पदको दुरुपयोग, र अन्य गम्भीर आपराधिक आरोपहरू लगाइएको छ।

३८ वर्षीय वरिष्ठ कन्स्टेबल मिटचेल लेस्लीलाई मंगलबार बिहान पक्राउ गरी सोही दिन दिउँसो होर्न्सबी स्थानीय अदालतमा उपस्थित गराइएको थियो। अदालतका कागजातअनुसार, लेस्लीको निजी मोबाइल फोन र ल्यापटपमा बाल यौन दुरुपयोग तथा पशु यौन क्रियाकलाप सम्वन्धी २ लाखभन्दा बढी तस्बिरहरू फेला परेका हुन्।

प्रहरी प्रणाली दुरुपयोग र व्यक्तिगत फाइदाको आरोप

लेस्लीमाथि गोप्य प्रहरी डेटा पहुँचपदको दुरुपयोग, र व्यक्तिगत सम्बन्धलाई कानुनी कारबाहीबाट जोगाउने प्रयास गरेको आरोप पनि छ।

अदालतमा पेश गरिएका कागजात अनुसार, उनले आफ्नो पार्टनरलाई अवैध रूपमा गाडी चलाउँदा नपक्रिन मद्दत गरेको, पार्टनरको दाजुलाई घरेलु हिंसासम्बन्धी मुद्दाबाट उम्कन सहयोग गरेको, प्रहरीको सवारी साधन दुरुपयोग गरेको, र आफ्नै व्यक्तिगत फाइदाका लागि प्रहरीको लेटरहेड प्रयोग गरेर सरकारी निकायमा सिफारिस पत्र पेश गरेको आरोप छ।

धरौटी अस्वीकृत

उनका कानुनी प्रतिनिधिले मानसिक स्वास्थ्य उपचारको आवश्यकता र PTSD सम्बन्धी कार्यक्रमका लागि अस्पताल सारिने तयारीका आधारमा धरौटीको माग गरेका थिए। तर अभियोजन पक्षले उनीबाट प्रमाण नष्ट गर्ने वा साक्षीलाई प्रभावमा पार्ने खतरा रहेको भन्दै कडा आपत्ति जनाए।

अदालतका न्यायाधीशले “गम्भीर जोखिम” औंल्याउँदै धरौटी अस्वीकृत गरेका छन्। लेस्ली हाल तलबबिना निलम्बनमा रहेका छन् भने उनको जागिरको स्थिति पुनरावलोकनमा रहेको प्रहरी स्रोतले जनाएको छ।

लेस्लीको अर्को सुनुवाइ सेप्टेम्बर १० मा हुने छ।

spot_img