
बार्सिलोना, स्पेन | नेपाल र स्पेनबीच सांस्कृतिक कूटनीति, अन्तर्राष्ट्रिय संवाद तथा शैक्षिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यसहित दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
म्याड्रिडमा मंगलबार आयोजित विशेष समारोहमा स्पेनी कूटनीतिक प्रतिष्ठान अकाडेमिया दे ला डिप्लोमेसिया देल रेइनो दे एस्पान्या र द डिप्लोम्याट नेपाल (एम्ब्यासडर्स क्लब) बीच उक्त समझदारीमा हस्ताक्षर भएको हो। कार्यक्रम स्पेनको प्रतिष्ठित संस्था इन्स्टिटुतो दे इन्जिनिएरोस दे एस्पान्या मा सम्पन्न भएको थियो।
समारोहमा नेपालका लागि स्पेनस्थित राजदूत शनिल नेपाल, एसिया-प्रशान्त क्षेत्रका डीन तथा भारतका लागि स्पेनस्थित राजदूत दिनेश पटनायक, विभिन्न देशका कूटनीतिज्ञ, स्पेनी सरकारका वरिष्ठ अधिकारीहरू, शिक्षा तथा संस्कृति क्षेत्रका प्रतिनिधि तथा दुबै संस्थाका अधिकारीहरूको उपस्थिति थियो।
समझदारीपत्रमा अकाडेमीका कार्यकारी अध्यक्ष सान्तियागो भेलो दे अन्तेलो र नेपालका लागि पूर्वराजदूत तथा ‘द डिप्लोम्याट नेपाल’ की अध्यक्ष डा. शर्मिला पराजुली ढकालले हस्ताक्षर गरे।

समारोहमा सम्बोधन गर्दै डा. ढकालले आजको कूटनीति केवल सरकार र दूतावाससम्म सीमित नरहेको उल्लेख गर्दै भनिन्, “कूटनीति अब जन–जनको मन, माटो र विचारसँग जोडिने संवादको माध्यम बनेको छ। नेपालजस्तो सानो राष्ट्रले पनि विश्व शान्ति, संवाद र विश्वासको प्रेरणा दिन सक्छ भन्ने हाम्रो विश्वास हो।”
त्यसैगरी, अध्यक्ष भेलो दे अन्तेलोले सहकार्यलाई दुई देशबीचको साझा भविष्य निर्माणतर्फको प्रतिबद्धता भन्दै भने, “हामी विचार, संस्कृति र ज्ञानमार्फत सन्देश फैलाउन सँगै काम गर्नेछौं।”
समझदारीअनुसार दुवै संस्थाले संयुक्त सम्मेलन, अनुसन्धान तथा प्रकाशन, शैक्षिक र सांस्कृतिक आदान–प्रदान, युवा कूटनीतिज्ञ तथा अनुसन्धानकर्ताका लागि तालिम तथा नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्नेछन्। साथै, नैतिक, सांस्कृतिक र आर्थिक कूटनीति सशक्त बनाउँदै दुई देशबीच जनस्तरसम्मको सम्बन्ध अझ मजबुत बनाउने सहमति पनि गरिएको छ।
