
न्यू साउथ वेल्स (NSW) राज्यमा फेरि एकपटक कडा हुरी र तेज हावाको सम्भावना देखिएको छ। अष्ट्रेलियाको मौसम पूर्वानुमान ब्यूरो (Bureau of Meteorology) ले आजदेखि राज्यको दक्षिण–पूर्वी तथा मध्य भूभागमा कडा हुरी र क्षतिकर हावाको चेतावनी जारी गरेको छ।
विशेषगरी सिड्नी, वुलोङ्गोङ, न्यूक्यासल, नौरा, किआमा, उल्लाडुल्ला, सिड्नी एयरपोर्ट, क्याम्पबेलटाउन, गोल्बर्न, बोवाराल, काटुम्बा र मेटल्यान्ड आसपासका क्षेत्रलाई तीव्र हावाबाट बढी प्रभावित हुने अनुमान गरिएको छ।
मौसम विभागका अनुसार:
- इललावारा र साउथ कोस्ट क्षेत्रका पहाडी भेगहरूमा १०० किमी/घण्टासम्मको तेज हावा चल्ने सम्भावना छ।
- सिड्नी महानगर क्षेत्रमा आज दिउँसोदेखि ९० किमी/घण्टासम्मको हुरी लाग्नेछ।
- न्यूक्यासल क्षेत्र पनि आज दिउँसोदेखि ९० किमी/घण्टासम्मको हावा प्रभावित हुनेछ।
- स्नोइ माउन्टेन्स, ACT र साउथ वेस्ट स्लोप्स का १३०० मिटरभन्दा माथिका भेगमा पनि बलियो हुरी र हावाको प्रभाव रहनेछ।
यस परिस्थितिमा न्यु साउथ वेल्स राज्य आपतकालीन सेवा (SES) ले नागरिकहरूलाई रुखमुनि पार्क गरिएको सवारीसाधन हटाउन, घर वरिपरिको फुस्रो सामान बाँध्न तथा सावधानी अपनाउन आग्रह गरेको छ।
सरकारले स्थिति बिग्रिन सक्ने भन्दै स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र मौसम सम्बन्धी आधिकारिक जानकारी निरन्तर पछ्याउन सुझाव दिएको छ।
