सिड्नी हार्बर ब्रिजमा बिहानैको दुर्घटना : लेन खुले पनि ट्राफिक जाम हटेन

spot_img

आज बिहान सिड्नी हार्बर ब्रिजमा भएको सवारी दुर्घटनापछि केही समयका लागि बन्द गरिएका सबै लेनहरू पुनः सञ्चालनमा ल्याइएको छ। बिहान ८:२० बजे भएको चार सवारीको टक्करका कारण ब्रिजको दुवै दिशामा गम्भीर ट्राफिक अवरोध सिर्जना भएको हो।

न्यू साउथ वेल्स प्रहरीले प्रारम्भिक अनुसन्धानमा दुई सवारी एकआपसमा ठोक्किएपछि थप दुई सवारीसँग टक्कर भएको जनाएको छ। दुर्घटनापछि एक चालक सवारीभित्रै फसेका थिए, जसलाई आपतकालीन उद्धार टोलीले सुरक्षितरूपमा बाहिर निकालेका हुन्।

घटनापछि हार्बर ब्रिजका चार लेन बन्द गरिएको थियो। यद्यपि, सबै लेन पुनः खोलिए पनि ट्राफिक सामान्य हुन बाँकी रहेको ट्राफिक व्यवस्थापन निकायले जनाएको छ। दक्षिणतर्फको ट्राफिक लेन कोभ टनेलसम्म भीडभाड देखिएको छ भने उत्तरतर्फ सिटी वेस्ट लिंक र भिक्टोरिया रोडबाट ब्रिजसम्म लामो लाइन लागेको छ।

दुर्घटनामा परेका दुई चालकलाई सामान्य चोट लागेकाे र उनीहरूलाई स्थिर अवस्थामा अस्पताल लगिएको न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले जनाएको छ।

ट्राफिक प्रभाव पश्चिमतर्फ ड्रुमोइन र उत्तरतर्फ अर्टार्मोनसम्म फैलिएको छ। प्रहरीले सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा पर्याप्त समय लिएर यात्रा गर्न सुझाव दिएको छ। घटनास्थलमा प्रहरी र आपतकालीन सेवाका टोली परिचालनमा रहेका छन्।

spot_img