
क्विन्सल्याण्डस्थित डार्लिङ डाउन जू (Darling Downs Zoo) मा सिंहको आक्रमणबाट गम्भीर घाइते भएकी महिला चिडियाघर सञ्चालक स्टिभ रोबिन्सनको पारिवारिक सदस्य भएको खुलासा भएको छ। सञ्चालकका अनुसार, ती महिला न्यू साउथ वेल्सकी एक शिक्षिका हुन्, जसले विगत दुई दशकदेखि उक्त चिडियाघरसँग सम्बन्ध राख्दै आएकी थिइन् र अनौपचारिक रूपमा फोटोग्राफरको रूपमा पनि सहयोग गर्दै आएकी थिइन्।
घटना चिडियाघरको मुख्य बाडामा नभई सिंहलाई राख्ने ‘होल्डिङ पेन’ क्षेत्रमा भएको बताइएको छ, जुन सफा गर्ने क्रममा प्रयोगमा ल्याइएको थियो। आक्रमणको समयमा चिडियाघर सञ्चालककी श्रीमती तथा एक कर्णिवोर विशेषज्ञ नजिकै थिए र द्रुत गतिमा प्राथमिक उपचार सुरु गरिएको थियो। पीडित महिलालाई तत्कालै टर्निकेट लगाई थर्मल ब्ल्याङ्केटले ढाकिएको र स्थानीय स्वास्थ्यकर्मी छिट्टै घटनास्थलमा पुगेको चिडियाघर प्रशासनले जनाएको छ।
सञ्चालक रोबिन्सनका अनुसार, आक्रमण चिडियाघरको इतिहासमै पहिलो भएको हो। उनले आक्रमणको सम्भावित कारणबारे अझै निश्चित नभएको जनाउँदै, सिंहहरूको स्वभाव सामान्य र सौम्य रहेको दाबी गरे। “हामी आफैले हुर्काएका सिंहहरू हुन्, र सामान्य अवस्थामा तिनीहरू राम्रो व्यवहार गर्छन्,” उनले भने।
पीडित महिलाको अवस्था हाल स्थिर रहेको र उनी अस्पतालमा उपचाररत रहेको जनाइएको छ। यद्यपि, उनले मिडियासँग कुराकानी गर्न सक्ने स्थिति अझै प्राप्त गरेकी छैनन्।
घटनापछि सिंहसँगको सार्वजनिक अन्तरक्रिया कार्यक्रम अस्थायी रूपमा स्थगित गरिएको छ। यस घटनाबारे क्वीन्सल्याण्डको वर्कप्लेस हेल्थ एन्ड सेफ्टी विभागले अनुसन्धान गरिरहेको छ।
चिडियाघर प्रशासनले यस घटनालाई गम्भीररूपमा लिएको जनाएको छ। यो हामी सबैका लागि निकै पीडादायक र भावनात्मक रूपमा चुनौतीपूर्ण समय हो,”सञ्चालक रोबिन्सनले भने, हामीसँग अब एउटा असल महिला छिन्, जसको जीवन यो घटनापछि पूर्णतः परिवर्तन भएको छ।
