मेलबर्नमा लागूऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ

spot_img

मेलबर्न— अष्ट्रेलियाको मेलबर्नस्थित प्राह्रान क्षेत्रमा एक व्यक्तिको घरमा गरिएको प्रहरी छापामा रिमोट–कन्ट्रोलले सञ्चालन हुने बुकसेल्फ पछाडि ठूलो मात्रामा लागूपदार्थ र निषेधित हतियार फेला परेको छ।

४३ वर्षीय पुरुषलाई लागूऔषध कारोबार र हतियार सम्बन्धी ३० वटा अभियोगमा पक्राउ गरी असार २१ गते मेलबर्न म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो। उनलाई पुनः असार ३१ गते अदालतमा उपस्थित गराइनेछ।

प्रहरीका अनुसार अभियुक्तले च्यापल स्ट्रिटस्थित नाइट क्लब र बारहरूमा लागूपदार्थको सूची वितरण गरी अर्डर लिने गर्थे। ती अर्डरहरू इनक्रिप्टेड मेसेजिङ एपमार्फत लिइन्थे, र लागूपदार्थहरू सिधै घरबाट क्लब वा ग्राहकसम्म पुर्‍याइन्थ्यो, जसका लागि अनभिज्ञ राइडशेयर चालकहरू प्रयोग गरिन्थे।

जुलाई ४ तारिख बिहान करिब ५ बजे प्रहरीले आर्कल स्ट्रिटस्थित उनको घरमा छापा मार्दा, रिमोट–कन्ट्रोल बुकसेल्फ पछाडि लुकाइएका करिब ११ हजार डलरको कोकिन, ६ हजार डलर बराबरको एमडीएमए, १० हजार डलरको 1,4-Butanediol, र करिब १६ हजार डलर बराबरको मेथाम्फेटामिन सहित अन्य लागूपदार्थ, स्टेरोइड, प्रेस्क्रिप्सन औषधिहरू बरामद गरिएको थियो।

त्यसैगरी नक्कली Glock ह्यान्डगन, स्टिलको नकुल, दुई ओटा खुकुरी, स्लिङसट, कुठार, एक्सटेन्डेबल लाठी, पटका र विद्युतीय उपकरणहरू समेत फेला परेका थिए।

साथै सोही घरबाट पक्राउ परेकी ३३ वर्षीया दक्षिण मेलबर्न निवासी महिलालाई कोकिनको सानो मात्रा फेला परेपछि चेतावनी दिइएको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धान अझै जारी रहेको जनाएको छ।

spot_img