गायिका एलिना चौहानलाई अशिष्ट कमेन्ट गर्ने युवक पक्राउ

Advertisement

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत अशिष्ट टिप्पणी र गालीगलौज गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँ बसोबास गर्ने ३३ वर्षीय गुन्जन राईलाई नियन्त्रणमा लिएको हो।

प्रहरी उपरीक्षक एवं ब्युरोका सूचना अधिकृत दीपकराज अवस्थीका अनुसार उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेर म्याद थप गर्ने तयारी भइरहेको छ।

गायिका चौहानले केही समयअघि साइबर ब्युरोमा उजुरी दिंदै सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने र अभद्र व्यवहार गर्नेहरूमाथि कारबाहीको माग गरेकी थिइन्। उक्त उजुरीका आधारमा राईलाई पक्राउ गरिएको हो।

पक्राउ परेका गुन्जन राई कवि समेत हुन्। उनी हालै नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ मा परेका थिए।

गायिका समीक्षा अधिकारीले पनि सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्दै आएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले उनीहरूको यो प्रयासको सराहना गरेका थिए।

spot_img