अष्ट्रेलियामा “घोस्ट स्टोर” नामका ठगी वेबसाइटहरूबाट सावधान रहन उपभोक्तालाई चेतावनी

spot_img

क्यानबेरा — अष्ट्रेलियामा आफूलाई स्थानीय व्यवसायको रूपमा प्रस्तुत गर्दै ठगी गर्ने अनलाइन वेबसाइटहरूको संख्यामा वृद्धि भएको भन्दै उपभोक्ता संरक्षण आयोग (ACCC) ले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

ACCC ले हाल चारवटा वेबसाइटहरू — everly-melbourne.com, willowandgrade-adelaide.com, sophie-claire.comdoublebayboutique.com — लाई घोस्ट स्टोरको रूपमा पहिचान गर्दै, ती वेबसाइटहरू अष्ट्रेलियामा आधारित नभएको र बन्द हुने प्रक्रियामा पनि नरहेको स्पष्ट पारेको छ।

आयोगका अनुसार यस्ता वेबसाइटहरूले आफूलाई मेलबर्न, एडिलेड वा डबल बेमा आधारित स्थानीय स्टोरको रूपमा देखाउँदै उपभोक्तालाई उच्च गुणस्तरको लुगा तथा जुत्ताचप्पल बिक्री गरिरहेको भनी भ्रमित पार्ने प्रयास गरिरहेका छन्। तर, वास्तवमा ती स्टोरहरू विदेशबाट सञ्चालित हुने र कम गुणस्तरका उत्पादन ड्रोप–शिपिङमार्फत पठाउने गरेको आरोप आयोगले लगाएको छ।

spot_img

ACCC की उपाध्यक्ष क्याट्रिओना लोउका अनुसार, “यी वेबसाइटहरूले उपभोक्तालाई भ्रममा पार्दै झूटो विज्ञापन मार्फत सामान बेचिरहेका छन्। साथै, ग्राहकहरूको गुनासो नस्वीकार्ने र फिर्ता नदिने प्रवृत्ति देखिएको छ।”

सन् २०२५ को सुरुदेखि हालसम्म ACCC मा यस्ता अनलाइन स्टोरहरू सम्बन्धी कम्तीमा ३६० गुनासो दर्ता भएका छन्, जसमा ६० भन्दा बढी अनलाइन विक्रेताहरू संलग्न रहेको अनुमान गरिएको छ।

घोस्ट स्टोरहरूले सामाजिक सञ्जाल विज्ञापनमार्फत उपभोक्तालाई लक्षित गर्ने, आफूलाई स्थानीय देखाउने नाम प्रयोग गर्ने र केही समयपछि बन्द भई पुनः नयाँ नाममा खुलेर ठगी दोहोर्याउने प्रवृत्ति देखिएको ACCC ले जनाएको छ।

आयोगले उपभोक्ताहरूलाई अनलाइन किनमेल गर्दा विशेष सतर्कता अपनाउन, वेबसाइटको विश्वासनीयता र समीक्षाहरू जाँच गर्न तथा सुरक्षित र प्रमाणिक स्रोतहरूबाट मात्र खरिद गर्न आग्रह गरेको छ।

spot_img