सिड्नी विमानस्थलमा आपत्तिजनक बाल सामग्रीसहित एक व्यक्ति पक्राउ

spot_img

सिड्नी विमानस्थलमा फिजीबाट आएका एक ५२ वर्षीय पुरुषलाई बाल यौन दुर्व्यवहारसम्बन्धी आपत्तिजनक सामग्री (child abuse material) ल्याएको आरोपमा अस्ट्रेलियन बडर फोर्स (ABF) ले पक्राउ गरेको छ।

जुन २५ मा फिजीबाट ओर्लिएका उनलाई स्क्रिनिङको क्रममा रोकेर अनुसन्धान गर्दा मोबाइल फोनका विभिन्न एपहरूमा ठूलो मात्रामा आपत्तिजनक सामग्री फेला परेको हो। उनले सिड्नी आउनुअघि केही फोटाहरू मेटाएको स्वीकार गरेको बताइएको छ।

बडर फोर्सले थप जाँच गर्दा उनको झोलाबाट अर्को मोबाइल, ट्याब्लेट, स्मार्ट वाच, ल्यापटप र हार्ड ड्राइभ फेला पारेको थियो। त्यसपछि गरिएको शारीरिक जाँचमा जुत्ताभित्र लुकाइएको पाँच वटा हार्ड ड्राइभ र अण्डरवेयरभित्र थप एउटा हार्ड ड्राइभ बरामद गरिएको थियो।

उक्त व्यक्तिमाथि बाल यौन दुर्व्यवहार सामग्रीको आयात, त्यस्ता सामग्री संप्रेषणमा संलग्नता, तथा संघीय अधिकारीको काममा अवरोध गरेको अभियोग लगाइएको छ। उनलाई धरौटी नदिई हिरासतमा राखिएको छ र आगामी अगस्ट १९ मा अदालतमा उपस्थित गराइनेछ।

ABF का कार्यवाहक सुपरिन्टेन्डेन्ट माइकल महोनीले बालबालिकाको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्नु सुरक्षा निकायको प्रमुख जिम्मेवारी भएको बताएका छन्। “जति फाइल नियन्त्रणमा लिइन्छ, त्यति नै सम्भावित अपराध रोकिन्छ र बालबालिकाको सुरक्षा सुनिश्चित हुन्छ,” उनले बताएका छन्।

Advertisement