युरोपमा भीषण गर्मीको प्रकोप: इफेल टावर बन्द, तापक्रम रेकर्ड तोडिँदै

spot_img

युरोप हाल एक शक्तिशाली गर्मीको लहर (हीटवेभ) को चपेटामा परेको छ, जसले स्पेन, पोर्चुगल, फ्रान्स, इटाली, टर्की, बेलायत र जर्मनीजस्ता देशहरूमा जनजीवन अस्तव्यस्त बनाएको छ। वैज्ञानिकहरूका अनुसार यो गर्मी जलवायु परिवर्तनसँग जोडिएको हो, जुन युरोपमा दोब्बर दरले प्रभाव पारिरहेको छ।

भूमध्यसागरको समुद्री सतहको तापक्रम सामान्यभन्दा ९ डिग्री सेल्सियससम्म बढेको छ। समुद्रमा फैलिएको यो गर्मी लहरले जमिनमा पनि अत्यधिक गर्मी, उच्च आर्द्रता र रातमा समेत तापक्रम घट्न नदिने अवस्था सिर्जना गरेको मौसमविद्हरू बताउँछन्। अफ्रिकाबाट आउने तातो हावाको प्रभावले यो स्थिति झनै गम्भीर बनाएको छ।

स्पेनको एल ग्रानाडो क्षेत्रमा आइतवार ४६ डिग्री तापक्रम मापन गरिएको छ, जुन जुन महिनाको हालसम्मकै राष्ट्रिय रेकर्ड हो। पोर्चुगलको मोरा सहरमा पनि ४६.६ डिग्री तापक्रम मापन भएको छ, जुन सम्भावित नयाँ रेकर्ड मानिएको छ। फ्रान्समा धेरै शहरहरूमा तापक्रम ३७ डिग्री नाघेको छ। अत्यधिक गर्मीका कारण फ्रान्सको राजधानी पेरिसस्थित इफेल टावर मंगलबार र बुधबारका लागि बन्द गरिएको छ। फ्रान्सका १६ विभागमा रातो तहको गर्मी चेतावनी जारी गरिएको छ भने विद्यालयहरू समेत बन्द गरिएको छ।

बेलायतमा पनि तापक्रम ३२ डिग्री नाघेसँगै यो वर्षको दोस्रो हीटवेभको सामना भइरहेको छ। त्यहाँका अधिकांश घरहरूमा एयर कन्डिसनको व्यवस्था नहुँदा जनजीवन थप कष्टकर बनेको छ।

spot_img

इटालीमा अत्यधिक गर्मीको जोखिमका कारण दिउँसोको समयमा बाहिरी कामहरू जस्तै निर्माण कार्य, खानी क्षेत्रको काममा अस्थायी प्रतिबन्ध लगाइएको छ। टर्कीमा पनि गर्मीका कारण डढेलो फैलिएको छ, जहाँ ५०,००० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै, फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आगलागीले १६१ हेक्टर क्षेत्र जलेर नष्ट भएको छ।

स्थानीय सरकारहरू गर्मीबाट बच्न विभिन्न उपायहरू अपनाइरहेका छन्। केही सहरहरूले ‘क्लाइमेट ओएसिस’ स्थापना गरेका छन् भने केही स्थानहरूमा नागरिकहरूलाई शीतलता मिलोस् भनेर निःशुल्क संग्राहलय भ्रमणको सुविधा पनि प्रदान गरिएको छ।

युरोपेली मौसम पूर्वानुमान केन्द्रका अनुसार हाल देखिएको गर्मीको प्रवृत्ति सामान्यतया जुलाई–अगस्टमा मात्र देखिने भए पनि यसपालि जुनमै तीव्र रूपमा देखिनु जलवायु परिवर्तनको गम्भीर संकेत हो। वैज्ञानिकहरूले गर्मी लहरहरू अब बारम्बार, तीव्र र लामो अवधिका हुने भएकाले मानव स्वास्थ्य, वातावरण, पूर्वाधार र आर्थिक प्रणालीमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

यसै सन्दर्भमा मौसम विज्ञहरूले सूर्यको प्रत्यक्ष सम्पर्कबाट जोगिन, प्रशस्त पानी पिउन, छायाँमा बस्न र अत्यावश्यकबाहेक बाहिर ननिस्कन सबैलाई आग्रह गरेका छन्।

spot_img