धनगढीमा झन्डै एक हजार घर डुबानमा, आठ जनाको सकुशल उद्धार—थप वर्षाले स्थिति गम्भीर बन्ने अनुमान

spot_img

धनगढी, १६ असार — सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा निरन्तरको अविरल वर्षाले उत्पन्न बाढी र डुबानको जोखिम बढ्दै गएको छ। आइतबार साँझदेखि जारी मूसलधारे वर्षाका कारण धनगढी उपमहानगरपालिकाका विभिन्न वडाहरूमा झन्डै एक हजार घर डुबानमा परेका छन् भने आठ जनाको सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका–७ अन्तर्गत बेली गाउँका सिताराम रानाको एकतले कच्ची घरमा पानी पस्दा उनीसहित परिवारका चार जना घरमै फसेका थिए। उद्धार टोलीले तत्कालै पुगेर उनीहरूलाई सुरक्षित स्थानमा सारेर नजिकैको आफन्तको घरमा राखेको हो।

त्यस्तै, धनगढी–१३ श्रीलंकास्थित भागीराम चौधरीका परिवारका चार जनाको समेत सकुशल उद्धार गरी स्थानीय नवज्योति आधारभूत विद्यालयमा अस्थायी रूपमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिका–१, २, ३, ४, ५, ७, ८ र १० नम्बर वडाहरूमा डुबानको गम्भीर असर परेको छ। लगातारको वर्षाका कारण करीब एक हजार घरमा पानी पसेको जनाइएको छ। यद्यपि अहिलेसम्म मानवीय क्षति या ठूलो भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन।

प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धार टोली, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्थानीय स्वयंसेवकहरूलाई तयारी अवस्थामा राखेको छ। यदि यही गतिमा वर्षा जारी रहेमा थप वस्तीहरू प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

स्थानीय बासिन्दाहरूलाई सतर्क रहन, आवश्यक परेमा सुरक्षित स्थानमा जान र प्रशासनद्वारा जारी सूचनालाई पालना गर्न आग्रह गरिएको छ। साथै, विद्यालयहरूलाई अस्थायी आश्रयस्थलको रूपमा तयारी अवस्थामा राखिएको छ।

डुबान प्रभावित क्षेत्रका बासिन्दाहरूले अझै पनि सुरक्षित स्थानमा स्थानान्तरण गर्न नसकेको जानकारी दिँदै स्थानीय जनप्रतिनिधिहरूले तत्काल राहत र उद्धार कार्यक्रम तीव्र पार्न सरकारसँग माग गरेका छन्।

प्रशासनले भने सम्भावित जोखिमलाई नियन्त्रण गर्न आवश्यक सबै पूर्वतयारी पूरा गरिएको जनाउँदै, मौसममा सुधार नआएसम्म उद्धार तथा राहत कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Advertisement