भूपरिवेष्टित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्य आवश्यक — मन्त्री देवेन्द्र दाहाल

spot_img

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भूपरिवेष्टित (landlocked) मुलुकहरूको समृद्धिका लागि क्षेत्रीय सहकार्य र सशक्त यातायात पूर्वाधार विकास अनिवार्य रहेको बताएका छन्।

टर्कीको इस्तानबुलमा सम्पन्न ‘ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५’ मा सम्बोधन गर्दै मन्त्री दाहालले भने, “यदि हामी यातायात पूर्वाधारद्वारा कनेक्टिभिटी कायम गर्न सफल भयौं भने, समुद्रसम्मको पहुँच प्राप्त गर्न सकिन्छ। त्यसैले नेपालसहित सबै भूपरिवेष्टित मुलुकहरूले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै पूर्वाधार विकासमा संलग्न हुनु आवश्यक छ।”

उक्त फोरममा ‘भूपरिवेष्टितबाट भूजडीत बन्ने प्रयासमार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरू’ विषयमा सम्बोधन गर्दै मन्त्री दाहालले सडक, रेल, बन्दरगाहमात्र नभई विश्वास, साझा दृष्टिकोण र सहकार्यमा पनि लगानी गर्नुपर्ने कुरामा जोड दिएका थिए। उनले नेपाल सबै विकास साझेदार, छिमेकी मुलुकहरू तथा अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारे।

छिमेकी मुलुकसँगको कनेक्टिभिटी प्राथमिकतामा

सम्बोधनका क्रममा मन्त्री दाहालले छिमेकी राष्ट्रहरूसँग जोड्ने रणनीतिक करिडोरहरुलाई सरकारको प्राथमिकतामा रहेको बताए। नेपालले बहुआयामिक तथा बहुदिशात्मक कनेक्टिभिटी नीति अङ्गीकार गरेको उल्लेख गर्दै उनले निर्माणाधीन उत्तर–दक्षिण करिडोरहरूले हिमाल, पहाड, तराई हुँदै बन्दरगाहहरू जोड्ने कार्य गरिरहेको जानकारी दिए।

उनले भने, “हामी चीनसँग ट्रान्स–हिमालयन कनेक्टिभिटी परियोजनाअन्तर्गत राजमार्ग विस्तार तथा रेलमार्ग सम्भाव्यता अध्ययनमा संलग्न छौँ। त्यसैगरी, बङ्गलादेशका बन्दरगाहसम्म पहुँच विस्तार र बिम्सटेक, बीबीआईएनजस्ता क्षेत्रीय संयन्त्रमार्फत दक्षिण–पूर्वी एसिया जोड्ने योजनामा काम गरिरहेका छौँ।”

भौगोलिक जोखिमका बीच पूर्वाधार चुनौती

मन्त्री दाहालले नेपालको भौगोलिक संवेदनशीलता र प्राकृतिक प्रकोपका कारण यातायात पूर्वाधार निर्माणमा थप चुनौती रहेको बताए। हिमाल, पहाड, चुरे, तराई लगायतका भौगोलिक क्षेत्रहरूमा कमजोर माटो र चट्टानी संरचनाका कारण पहिरोको उच्च जोखिम रहेको उल्लेख गरे।

हिमाली क्षेत्रमा बग्ने तीव्र प्रवाहका नदीहरू तथा बाढी र पहिरोका कारण नेपालले हरेक वर्ष ठूलो जनधनको क्षति व्यहोर्नु परेको उल्लेख गर्दै, यस्तो अवस्थालाई ध्यानमा राखी पूर्वाधार निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

टर्की भ्रमण र स्वागत

मन्त्री दाहाल २६ जुनमा टर्की पुगेका थिए। टर्कीको यातायात राज्य मन्त्रीले विमानस्थलमा उनलाई स्वागत गरेका थिए। फोरममा सहभागिता दिँदै मन्त्री दाहालले नेपालका तर्फबाट क्षेत्रीय सहकार्य र अन्तरदेशीय कनेक्टिभिटीमा नेपालको दृष्टिकोण प्रष्ट पारेका थिए।

spot_img