
एएफसी महिला एसियन कप २०२६ छनोट अन्तर्गत समूह एफका खेलहरू आज आइतबारदेखि उज्बेकिस्तानमा सुरु हुँदैछन्। प्रतियोगिताको पहिलो खेलमै नेपाली महिला टोलीले नयाँ प्रतिद्वन्द्वी लाओसविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
यो खेल नेपाली महिला फुटबलको लागि विशेष रहनेछ, किनभने लाओसविरुद्धको खेल नै नेपालका लागि अन्तर्राष्ट्रिय महिला फुटबलमा १००औं खेल हुनेछ। महिला फुटबलमा चार दशकअघिबाट सहभागिता जनाउँदै आएको नेपाली टोलीका लागि यो खेल अर्को ऐतिहासिक कोसेढुंगा सावित हुने विश्वास गरिएको छ।
छनोटको पहिलो खेल आज नेपाली समयअनुसार साँझ ६:१५ बजे तास्कन्दस्थित बुनयोदकोर स्टेडियममा हुनेछ। यही खेलबाट नवनियुक्त प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्ड ले पनि आफ्नो डेब्यू गर्दैछन्।
उक्त समूहमा उज्बेकिस्तान, नेपाल, श्रीलंका र लाओस रहेका छन्। घरेलु टिम उज्बेकिस्तान समूहको बलियो दाबेदार मानिएको छ। समूह विजेता मात्र एएफसी महिला एसियन कपमा छनोट हुने भएकाले हरेक खेल निर्णायक हुनेछ।
नेपाल र लाओसबीच महिला फुटबलमा यो पहिलो भिडन्त हो। पुरुष फुटबलमा यी दुई टिमबीच विगतमा खेल भइसके पनि महिला तर्फ पहिलो पटक भेटघाट हुन लागेको हो।
नेपालले हालैका महिनाहरूमा थाइल्याण्ड, म्यानमार, लेबनान, कीर्गिस्तानजस्ता टोलीहरूसँग प्रतिस्पर्धा गरिसकेको छ। यद्यपि, पछिल्ला चार खेलमा नेपालले जित हात पार्न सकेको छैन। तर, फिफा वरियतामा नेपाल लाओसभन्दा सात स्थानले अगाडि, १००औं स्थानमा रहेको छ भने लाओस १०७औं स्थानमा छ।
प्रशिक्षक वाइल्डले शनिबार आयोजित पूर्व–खेल पत्रकार सम्मेलनमा टोली शारीरिक र मानसिक रूपमा तयार रहेको बताएका थिए। स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा र मिडफिल्डर रेनुका नगरकोटीले पनि पहिलो खेललाई जितका साथ सुरु गर्नुपर्ने आवश्यकता व्यक्त गरेका थिए।
आजको खेलले नेपाली महिला फुटबलको इतिहासमा नयाँ पाना थप्नेछ, र छनोटको यात्रालाई सकारात्मक दिशामा डोहोर्याउने अपेक्षा गरिएको छ।
