बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी राधा मोहन प्रसाद जैसवाल पक्राउ

Advertisement

    काठमाडौं, असार १३ – बैंकिङ कसूर मुद्दामा फरार रहँदै आएका राधा मोहनप्रसाद जैसवाललाई प्रहरीले काठमाडौंको सिनामंगल क्षेत्रबाट पक्राउ गरेको छ। गौशाला प्रहरी वृत्तको टोलीले विशेष निगरानी तथा सूचनाका आधारमा उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

    गौशाला वृत्तका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुकदेव खनालका अनुसार जैसवाललाई बाटोमा हिँडिरहेका अवस्थामा पहिचान गरी नियन्त्रणमा लिइएको हो। उनी लामो समयदेखि फरार रहँदै आएका थिए।

    रौतहट जिल्लाको माधव नारायण नगरपालिका–१ निवासी जैसवालमाथि बैंकिङ कसूरसम्बन्धी मुद्दामा संलग्न रहेको आरोप लाग्दै आएको छ। सोही अभियोगमा काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति आदेश जारी गरेको थियो। फरार रहँदा विदेश पलायन हुने सम्भावना उच्च भएकाले गौशाला प्रहरी वृत्तअन्तर्गतको अपराध अनुसन्धान तथा कारबाही शाखाले राहदानी विभागमा पत्राचार गरी उनको पासपोर्ट विवरण मागसमेत गरेको थियो।

    प्रहरीले प्रारम्भिक अनुसन्धानमा जैसवालमाथि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको कारोबारमा विश्वासघात तथा गैरकानुनी कारोवारमा संलग्न रहेको आशंका गरेको छ।

    डीएसपी खनालले भने, “उनलाई पक्राउ गरी हाल आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। कानुनी प्रक्रियाअनुसार अदालतमा पेश गर्ने तयारी भइरहेको छ।”

    प्रहरीले बैंकिङ कसूर जस्ता आर्थिक अपराधका अभियुक्तहरूलाई कानूनी दायरामा ल्याउन लगातार निगरानी र सूचना संकलनको माध्यमबाट कारबाही तीव्र पारिएको जनाएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरीको विशेष टोली सक्रिय रूपमा खटिएको छ।

    प्रहरीका अनुसार, जैसवालमाथिको विस्तृत विवरण र बैंकिङ कसूरसम्बन्धी अभियोगमा थप अनुसन्धान जारी रहेको छ। अदालतबाट थप आदेश प्राप्त भएपछि उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइनेछ।

    spot_img