
सिड्नी, न्यू साउथ वेल्स सरकारले आवास संकट समाधानका लागि १ अर्ब अष्ट्रेलियन डलर बराबरको “पूर्व-बिक्री ग्यारेन्टी योजना” सार्वजनिक गरेको छ। राज्यको चालु आर्थिक वर्षको बजेटमार्फत सार्वजनिक गरिएको यो योजना ‘अष्ट्रेलियामै पहिलो’ र ‘विश्वमै अग्रणी’ हुने दाबी गरिएको छ। योजना अनुसार, आगामी पाँच वर्षमा ५ हजार एकाइको पूर्व-बिक्री सुनिश्चित गरेर कुल १५ हजार नयाँ घर निर्माण गर्ने लक्ष्य राखिएको छ।
राज्यका कोष तथा आवास मन्त्री ड्यानियल मूकहीद्वारा घोषणा गरिएको योजनाले मुख्यतया निजी क्षेत्रका आवास विकासकर्तालाई लक्षित गरेको छ। हाल बैंक तथा वित्तीय संस्थाले परियोजना सुरु गर्न कम्तीमा ८० प्रतिशत पूर्व-बिक्री माग गर्ने गरेका छन्। यिनै शर्तका कारण धेरै परियोजना अलपत्र परेका वा ढिलाइमा परेका छन्। राज्य सरकारले भने यो अवरोध हटाउन कम्तीमा ५० प्रतिशत पूर्व-बिक्री भइसकेका परियोजनाहरूलाई $5 मिलियनदेखि $50 मिलियनसम्मको ग्यारेन्टी प्रदान गर्ने व्यवस्था गरेको हो।
ग्यारेन्टी प्राप्त गरेपछि विकासकर्ताले ६ महिनाभित्र निर्माण सुरु गर्नुपर्नेछ। निर्माण सम्पन्न भएपछि यदि सबै आवासहरू बिक्री भए, भने उक्त ग्यारेन्टी स्वतः खारेज हुनेछ र त्यो रकम पुनः घुम्ती कोषमा फर्किनेछ, जसले अन्य परियोजनामा प्रयोग गर्न सकिनेछ। यदि आवास बिक्री नभएको अवस्थामा विकासकर्ताले राज्यको ग्यारेन्टी प्रयोग गर्न सक्नेछन्, जसअनुसार सरकारले ती एकाइहरू छुट मूल्यमा किन्न सक्नेछ।

राज्य सरकारले ती आवासहरूलाई सार्वजनिक बिक्रीमा राख्ने, भाडामा दिने वा सामाजिक वा किफायती आवासका रूपमा राख्ने विकल्प अपनाउन सक्नेछ। यसले सामाजिक रूपमा कमजोर वर्गका लागि आवास पहुँच पनि सहज बनाउने अपेक्षा गरिएको छ।
मन्त्री मूकहीले भने, “यो योजना कुनै चमत्कारी उपाय होइन, तर यो राज्यको आर्थिक क्षमताको विवेकपूर्ण प्रयोग हो, जसले थप १५ हजार घर निर्माणको बाटो खोल्नेछ। बैंकलाई मनाउने झन्झट कम गरेर विकासकर्ताहरूले समयमै निर्माण सुरु गर्न सक्नेछन्।”
टेनेन्ट्स युनियन अफ एनएसडब्लूका प्रमुख कार्यकारी लियो पाटरसन रोसले भने योजनाले निजी बजारबाट उत्पन्न हुने वित्तीय अवरोधलाई सम्बोधन गर्ने प्रयास गरेको स्वीकार गरे। तर, उनले योजना सस्तो आवासको परिभाषा, घरको आकार वा समुदायको आवश्यकतालाई सम्बोधन गर्न नसकेको भन्दै आलोचना पनि गरे। “हामीले सरकारसँग सार्वजनिक लगानीमार्फत सस्तो र जनतामुखी आवास निर्माणमा ध्यान दिन आग्रह गरेका थियौं,” उनले भने।
यता, प्रोपर्टी काउन्सिल अफ एनएसडब्लूकी कार्यकारी निर्देशक केटी स्टेभेन्सनले भने योजना निर्माण क्षेत्रको लागि “वास्तविक प्रगतिको संकेत” भएको बताइन्। उनका अनुसार, धेरै परियोजनाहरू योजना स्वीकृति, बजार माग, र सक्षम साझेदार हुँदाहुँदै पनि उच्च पूर्व-बिक्रीको सर्तले अघि बढ्न सकेका थिएनन्। नयाँ ग्यारेन्टी योजनाले यी बाधा हटाउनेछ।
यो योजनाबाट न्यू साउथ वेल्समा मध्यम आय भएका वर्गका लागि आवासको अभाव कम गर्ने र समग्र आवास आपूर्तिमा वृद्धि ल्याउने सरकारको अपेक्षा रहेको छ। साथै, यसले निर्माण क्षेत्रमा रोजगारी सिर्जना, लगानी प्रवाह र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ।
