
तेहरान — इजरायली हवाई आक्रमणका कारण इरानमा १२ दिनदेखि जारी भीषण संघर्षमा मृत्यु हुनेको संख्या ६२७ पुगेको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। सरकारी सञ्चार संस्था आईआरआईबी का अनुसार, हालसम्म ४,८७० जना नागरिक तथा सुरक्षाकर्मी घाइते भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार, सबैभन्दा धेरै क्षति राजधानी तेहरान र पश्चिमी प्रान्त केरमानशाह मा भएको हो। धेरैजसो पीडितले घटनास्थलमै ज्यान गुमाएका छन् भने केहीको उपचारका क्रममा मृत्यु भएको उल्लेख गरिएको छ।
इरानमा हवाई हमलाको चपेटामा परेका क्षेत्रहरूमा तत्काल उद्धार, स्वास्थ्य सेवा र आपतकालीन राहत पुर्याउन सरकार संघर्षरत छ। यद्यपि युद्धरत अवस्थाका कारण स्वास्थ्य पूर्वाधारमा पनि ठूलो दबाब परेको छ।
बीबीसी का अनुसार, इरान सरकारले मृतक संख्या दैनिकरूपमा सार्वजनिक नगरेकाले र देशभित्र स्वतन्त्र रिपोर्टिङमा कडाइ गरिएकाले युद्धको वास्तविक मानवीय क्षतिको आँकलन गर्न कठिन भइरहेको छ।
युद्ध क्षेत्रबाट प्राप्त दृश्यहरूमा अस्पतालहरू भरिएका देखिन्छन्, घाइतेहरूको उपचारका लागि औषधि, उपकरण र चिकित्सकको अभाव देखिएको छ।
मानवअधिकार समूहहरूका अनुसार, सरकारी तथ्यांकभन्दा वास्तविक मृतक संख्या धेरै हुन सक्छ। उनीहरूले हवाई आक्रमणको असर स्थानीय बस्ती, अस्पताल, विद्यालय र सार्वजनिक संरचनामा पनि परेको जनाएका छन्।
अहिलेसम्मको हिंसात्मक झडपमा इरानले इजरायलमाथि निरन्तर आक्रमण भोगिरहेको छ भने इजरायलले पनि सुरक्षा चुनौतीलाई बहाना बनाउँदै आक्रामक प्रतिक्रिया दिइरहेको छ। यस क्षेत्रीय द्वन्द्वका कारण मानवीय संकट गहिरिँदै गएको र मध्यपूर्वको स्थायित्व थप कमजोर बन्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेको छ।
संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले दुबै पक्षलाई आत्मसंयम अपनाउन र वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन्। तर, हालसम्म स्थिति नियन्त्रणभन्दा बाहिर गइरहेको देखिएको छ।
