
सिड्नी, अष्ट्रेलिया — अष्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोग (ACCC) ले डेंडी सिनेमा चेनलाई मूल्य पारदर्शितामा चुक्दा १९,८०० अष्ट्रेलियन डलर जरिवाना गरेको छ। आयोगले डेंडी सिनेमा उपभोक्तालाई टिकट खरिदको क्रममा सबै अनिवार्य शुल्कहरू प्रारम्भमै स्पष्ट रूपमा देखाउन असफल भएको ठहर गरेको हो।
ACCC का उपाध्यक्ष क्याट्रिना लोवका अनुसार डेंडी सिनेमा कम्पनीले फिल्म टिकटको मूल्यमा लागू हुने सबै शुल्क प्रारम्भमै देखाउनुपर्ने कानुनी बाध्यता पुरा नगरेको आरोप लागेको छ। आयोगको भनाइमा डेंडीले टिकट खरिद प्रक्रियाको अन्तिम चरणमा मात्र कुल मूल्य खुलाएको थियो, जसले उपभोक्तालाई उचित निर्णय लिन कठिन बनाएको थियो।
“कुनै पनि सामान वा सेवाको मूल्य पारदर्शी नदेखाउँदा उपभोक्ता गलत निर्णयमा पुग्न सक्छन्,” उपाध्यक्ष लोवले भनिन्, “डेंडी सिनेमा जस्तो स्थापित व्यवसायले प्रारम्भमै सबै शुल्क स्पष्ट गर्नु जरुरी हुन्छ, ताकि उपभोक्ताले वास्तविक लागत बुझ्न सकून्।”

डेंडी सिनेमा हलिउड अभिनेता मेल गिब्सन र उनका दीर्घकालीन सहकर्मी ब्रुस डेभीको स्वामित्वमा रहेको कम्पनी Icon Film Distribution अन्तर्गत सञ्चालित छ। सन् २००८ मा गिब्सन र डेभीले उक्त सिनेमा चेन २१ मिलियन अष्ट्रेलियन डलरमा किनेका थिए। हाल डेंडी सिनेमा चेनका अष्ट्रेलियाभर ६ वटा शाखाहरू सञ्चालनमा छन्।
९न्यूज डट कम डट एयू (9news.com.au) ले यसबारे थप प्रतिक्रिया लिन Icon Film Distribution सँग सम्पर्क गरेको जनाएको छ, तर समाचार लेख्दासम्म कुनै औपचारिक टिप्पणी प्राप्त भएको छैन।
ACCC ले डेंडी सिनेमालाई जरिवाना गरेसँगै अहिले अष्ट्रेलियामा चलिरहेका अन्य सिनेमाहरूले मूल्य निर्धारण सम्बन्धी कानुनी दायित्वको पालना गरिरहेका छन् वा छैनन् भन्नेबारे पनि अनुसन्धान सुरु गरेको छ। आयोगका अनुसार यस्ता व्यवसायिक गतिविधिहरूमा पारदर्शिता नहुनु उपभोक्ता हितविरुद्ध हुने हुँदा निगरानी बढाइएको हो।
उक्त निर्णयले व्यवसायहरूलाई मूल्य निर्धारणमा सावधानी अपनाउनुपर्ने सन्देश दिएको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्।
