पूर्व लिबरल सांसद डेरेल म्याग्वायर भ्रष्ट्राचार अनुसन्धानमा झुटो बयान दिएको अभियोगमा दोषी ठहर

सिड्नी — अष्ट्रेलियाका पूर्व लिबरल सांसद डेरेल म्याग्वायरलाई भ्रष्ट्राचार अनुसन्धान आयोग (ICAC) समक्ष झुटो बयान दिएको अभियोगमा दोषी ठहर गरिएको छ। शुक्रबार सिड्नीको डाउनिङ सेन्टर कोर्टहाउसमा न्यायाधीश क्लेयर फार्नानले म्याग्वायरले दिएको प्रमाण तथा बयानहरू भ्रामक रहेको ठहर गर्दै दोषी ठहर गरेकी हुन्।

सन् २०१८ मा भएको सुनुवाइको क्रममा म्याग्वायरले सिड्नीको क्याम्सीस्थित अनुमानित ४८ मिलियन डलरको सम्पत्ति विकास योजनाबाट आफूले प्राप्त गर्न सक्ने फाइदाबारे दिएको विवरणप्रति प्रश्न उठाइएको थियो। अनुसन्धानको क्रममा म्याग्वायरले फाइदासम्बन्धी विवरण छोप्ने प्रयास गरेको देखिएको थियो।

spot_img

उक्त प्रकरण म्याग्वायरको व्यक्तिगत र राजनीतिक जीवनसँग मात्र सीमित छैन, किनभने यही सम्बन्धका कारण पूर्व न्यू साउथ वेल्स प्रिमियर ग्लाडिस बेरेजिक्लियनको पनि राजनीतिक पतन भएको थियो। दुवैबीचको गोप्य सम्बन्ध सार्वजनिक भएपछि राजनीतिक र सार्वजनिक जीवनमा ठूलो असर परेको थियो।

म्याग्वायरको कानुनी टोलीले उक्त फैसला गोप्य राख्न अनुरोध गरे पनि अदालतले खुला न्यायप्रणालीलाई प्राथमिकता दिँदै सो अनुरोध अस्वीकार गर्‍यो। न्यायाधीश फार्नानले भनिन्, “समुदायको खुला न्यायमा चासो म्याग्वायरको व्यक्तिगत हितभन्दा माथि रहेको छ।”

spot_img

यो फैसला न्यू साउथ वेल्सको राजनीतिमा पारदर्शिता र जवाफदेहिताको पक्षमा एउटा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। यसले उच्चपदस्थ व्यक्तिहरूले पनि कानूनी जवाफदेहिताबाट उन्मुक्ति पाउन सक्दैनन् भन्ने सन्देश दिएको छ। अदालतले अब म्याग्वायरलाई साजाय निर्धारण प्रक्रिया अगाडि बढाउनेछ।

Advertisement