गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी निर्वाचनका लागि सदस्यता दर्ता प्रक्रिया कार्य सम्पन्न भएको छ। आउँदो जुलाई २६ मा एनआरएन छनोटका लागि हुन हुन गैरहेको निर्वाचनमा अहिलेसम्म हालसम्म १६ हजारभन्दा बढी सदस्यहरुले सदस्यता आवेदन लिएका छन्। एनआरएनए अष्ट्रेलियाका अनुसार, सदस्यता दर्ताको लागि निर्धारित अन्तिम समयसीमा हिजो रातिसम्म मात्र खुला गरिएको थियो।
यो अवधिभित्र जम्मा १६,०२७ जनाले साधारण सदस्यता लिइसकेका छन्, जुन संख्या अघिल्लो कार्यकालको तुलनामा केही मात्रामा बढि देखिएको हो । तीमध्ये ५,१९९ जनाको सदस्यता अझै प्रमाणीकरण प्रक्रियामा रहेको जनाइएको छ। बाँकी सदस्यहरूको विवरण प्रमाणीकरण गरी मतदाता सूची तयार गर्ने कार्य पनि जारी रहेको एनआरएनए अष्ट्रेलियाले जानकारी दिएको छ।

यसपटकको सदस्यता दर्तामा देखिएको उल्लेखनीय सहभागिताले एनआरएनए अष्ट्रेलियाप्रतिको नेपाली समुदायको चासो र सक्रियतामा उल्लेखनीय वृद्वि भएको झल्किएको छ । यद्यपि, केन्द्रमा देखिएको विवादको छायाँ अष्ट्रेलियासम्म पनि आइपुगेको देखिए पनि, त्यसले सदस्यता संख्यामा खासै नकारात्मक असर पार्न सकेको छैन। यसबाहेक, आजीवन सदस्यहरूलाई समेत समावेश गर्दा एनआरएनए अष्ट्रेलियाको कुल सदस्य संख्या १७ हजार भन्दा बढी हुने आकलन गरिएको छ, जसले आगामी निर्वाचनमा प्रतिस्पर्धा र सहभागिता दुबै उच्च हुने अपेक्षा गरिएको छ। एनआरएनए अष्ट्रेलियाले अबको केही दिनमा सदस्यताको प्रमाणिकरण प्रक्रिया पूरा गरी मतदाता सूची सार्वजनिक गर्ने पनि जनाएको छ। सोही आधारमा उम्मेदवारको मनोनयन र निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ।
