गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचन नजिकिँदै गए संगै सदस्यता लिनेको संख्या भने कम देखिएको छ। २०२५ को निर्वाचनका लागि विभिन्न राज्यहरूमा सदस्यता लिन आवेदन खुला गरिएको भए पनि हालसम्मको तथ्यांकले समुदायमा अपेक्षित चासो नदेखिएको संकेत गरेको छ।
एनआरएनए अस्ट्रेलियाले ५ जुनसम्म प्राप्त विवरण सार्वजनिक गर्दै जम्मा ५,८५४ जनाले मात्र सदस्यता आवेदन दिएको जनाएको छ। अघिल्ला निर्वाचनहरूमा अन्तिम चरणमा सदस्यता लिनेको संख्या तीव्र रूपमा बढ्ने गरेको भए पनि यस वर्षको अभियान अपेक्षाकृत सुस्त भएको संघले जनाएको छ। यही कारण, सदस्यता लिने म्याद आगामी १५ जुनसम्मका लागि थप गरिएको छ।

संघले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई समयमा नै सदस्यता लिन वा नवीकरण गर्न आग्रह गर्दै आएको छ। एनआरएनएको निर्वाचन प्रक्रिया पारदर्शी र सहभागीपूर्ण बनाउन सदस्यता लिनेको संख्या निर्णायक हुने भएकाले संघले सक्रिय सहभागिताका लागि विशेष अपिल गरेको छ।
सदस्यताका लागि इच्छुक व्यक्तिहरूले ‘स्मार्ट एनआरएन’ नामक मोबाइल एप डाउनलोड गरी सोही एपमार्फत नयाँ सदस्यता लिन वा पुरानो नवीकरण गर्न सक्नेछन्। नयाँ सदस्यता लिन चाहनेहरूले एपमा गई ‘क्रिएट न्यू अकाउन्ट’ मा क्लिक गरी आवश्यक विवरणहरू भरेर प्रक्रिया पूरा गर्नुपर्नेछ। यस्तै, नवीकरण गर्न चाहनेहरूले पहिलेको अकाउन्टमा लगइन गरेर विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ। पासवर्ड बिर्सिएका अवस्थामा ‘फर्गेट पासवर्ड’ सुविधा प्रयोग गरी इमेलमार्फत नयाँ पासवर्ड सेट गरि आवस्यक निर्देशन हरु पुरा गरि सदस्यता नवीकरण गर्न सकिनेछ । चुनाव आउन अझै केहि समय बाकीं नै रहेको हुँदा सबैमा सदस्यताका लागि आवेदन लिन पनि एनआरएनले हार्दिक अपिल समेत गरेको छ ।
यसैविच NRNA अस्ट्रेलियाका वर्तमान अध्यक्ष अनिल पोखरेलले पनि फेसबुक पेजको एक भिडियोमार्फत NRNA अष्ट्रेलियाको सदस्य बन्नका लागि सम्पूर्णगा आग्रह गरेका छन ।
