अमेरिकामा एकै परिवारका चार नेपाली घरभित्रै मृत भेटिए

अमेरिकाको भर्जिनियामा बसोबास गर्ने एक नेपाली परिवारका चार सदस्य आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन्। मृतकमा ३८ वर्षीय सन्तोष परियार, उनकी ३६ वर्षीया पत्नी अञ्जु श्रेष्ठ, उनीहरूकी ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन्।

स्थानीय समयअनुसार राति करिब १०:४० बजे लानाए लेनस्थित अपार्टमेन्टमा उनीहरूको शव फेला परेको हो। घटनाबारे जानकारी पाएका छिमेकीहरूले यो परिवार करिब ६ महिना अघि मात्र त्यहाँ सरेको बताएका छन्।

अमेरिकी समाचार संस्था NBC वाशिङ्टनका अनुसार, चारै जनालाई गोली लागेकाे पुष्टि भएको छ। घटनास्थलबाट प्रहरीले एकवटा हतियार पनि बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानको आधारमा प्रहरी यो घटनालाई सम्भावित हत्या वा आत्महत्याको घटनाका रूपमा हेरेको छ।

तर, कसले गोली चलाएको भन्नेबारेमा प्रहरीले हालसम्म कुनै निश्चित जानकारी सार्वजनिक गरेको छैन। बालबालिकाका नामसमेत हाल सार्वजनिक गरिएको छैन। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।