गैरआवासीय नेपाली संघ (NRNA) को केन्द्रिय विवाद अष्ट्रेलियामा समेत गहिरिँदै गएको छ। पूर्वअध्यक्ष डा. शेष घलेको नेतृत्वमा ‘सर्वसम्मति’ अवधारणामा आधारित भएर गठन गरिएको एनआरएन आईसीसीको विवादको निरुपणमा अदालतबाट ढिलाइ भइरहेकाले, एनआरएन अष्ट्रेलियाको आगामी अधिवेशन अघि नै दुईवटा फरक संस्था बन्ने लगभग निश्चित देखिएको छ।
यसैबीच, महेश श्रेष्ठ नेतृत्वको समूहले NRNA AUSTRALIA LIMITED नामक संस्था अष्ट्रेलियन नियामक निकाय ASIC मा मे २८ मा दर्ता गराएको पुष्टि भएको छ।

यससँगै छुट्टै फेसबुक पेज सार्वजनिक भइसकेको छ भने वेबसाइट पनि अन्तिम तयारीमा रहेको जनाइएको छ।नयाँ संस्था प्रारम्भिक रूपमा तीनजनाको नाममा दर्ता गरिएको छ र चाँडै तदर्थ समिति गठन गरी सदस्यता वितरण प्रक्रिया सुरु गर्ने योजना रहेको स्रोतको भनाइ छ।
यता, अष्ट्रेलियामा पहिल्यै NON-RESIDENT NEPALI ASSOCIATION AUSTRALIA नाममा संस्था दर्ता भएकाले नयाँ नाममा पुनः दर्ता गर्न कुनै कानुनी अड्चन नभएको जनाइएको छ। तर, लोगोको प्रयोगबारे विवाद देखिएको छ। हालको कार्यसमितिले लोगो र अन्य बौद्धिक सम्पत्ति ट्रेडमार्कको रूपमा दर्ता गरिसकेकाले अनधिकृत प्रयोग दण्डनीय हुने र क्षतिपूर्तिसहितको कानुनी कारबाहीको विषय बन्न सक्ने देखिएको छ।
दुबै संस्था अष्ट्रेलियाको कानुनअनुसार कम्पनीका रूपमा दर्ता भएका हुन्, जसमा बोर्ड अफ डाइरेक्टर्स रहने प्रावधान छ। यसैबीच, महेश श्रेष्ठ नेतृत्वको ICC ले गत शुक्रबारको बैठकमा सबै राष्ट्रिय समन्वय परिषद् (NCC) सँग MoU गर्न निर्देशन दिँदै यस्तो निर्णय सार्वजनिक गरेको छ:
“The meeting decided to move forward aggressively to ensure compliance of NCCs with the NRNA by signing the Memorandum of Understanding (MOU). Only those NCCs that sign the MOU will be considered authorized. Regional coordinators or respective country members may establish NCCs according to the NRNA ICC constitution in countries where no NCC has signed the MOU.”





