नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी संविधानलाई ऐतिहासिक उपलब्धि भएको बताएका छन्।
छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औँ वर्षका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार सहभागिता, सशक्तीकरण र प्रतिनिधित्वको सुनिश्चितता संविधानमै उल्लेख हुनु उपलब्धि भएको बताए।
वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत संरक्षण गर्दै आएको स्मरण गराउँदै उनले २०६३ साल जेठ २१ गते पुनःस्थापित संसद्बाट देश छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको बताए।
संविधानले छुवाछूत तथा विभेदजन्य कार्यलाई गम्भीर सामाजिक अपराधको रूपमा व्याख्या गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले दलित समुदायको उत्थानका लागि विशेष पहल, नीति र कार्यक्रम आवश्यक रहेको बताएका छन्।





