अष्ट्रेलियामा नेपाली समुदायमा बढ्दो गैरकानुनी क्रियाकलापले सरोकारवाला चिन्तित

ष्ट्रेलियाको नेपाली समुदायमा पछिल्ला दिनमा विविध किसिमका गैरकानुनी गतिविधि र घरेलु हिंसाका घटनाहरू बढेकोमा सिड्नीमा आयोजित एक विशेष कार्यक्रममा सरोकारवाला निकायहरूले गम्भीर चासो व्यक्त गरेका छन् । कार्यक्रममा सहभागीहरूबीच यस्ता घटनाहरू न्यूनीकरण गर्न सम्पूर्ण समुदाय तथा सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिइएको छ ।

कार्यक्रम नेपाली वाणिज्य दूतावास र अष्ट्रेलियन नेप्लिज जर्नलिस्ट एशोसिएसन (एन्जा) को सहकार्यमा आयोजना गरिएको थियो। कार्यक्रममा प्रहरी अधिकृत सुदीप स्वारले न्यु साउथ वेल्स राज्यमा मात्रै प्रत्येक महिना १०–१५ जना नेपाली मूलका व्यक्ति बलात्कार, घरेलु हिंसा, यौनजन्य हिंसा र लागुऔषध दुर्व्यसनजस्ता गम्भीर अपराधमा जेल चलान हुने तथ्य सार्वजनिक गर्नुभयो।

Advertisement

स्वारले यस्ता घटनाहरू समयमै नियन्त्रण गर्न नसके नेपाली समुदायकै छवि बिग्रन सक्ने भन्दै सबैलाई सचेत रहन र कुनै पनि आपराधिक गतिविधि देखिएमा प्रहरीलाई जानकारी दिन आग्रह गर्नुभयो।

वाणिज्यदूत सञ्जीव शर्माले नेपालीको संलग्नता आपराधिक क्रियाकलापमा बढ्दै जानु दुःखद् भएको भन्दै सबैले एकजुट भएर समाज सुधारमा काम गर्नुपर्नेमा जोड दिनुभयो। एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले सचेतनामूलक यस्ता कार्यक्रमहरूलाई निरन्तर साथ दिने प्रतिबद्धता जनाउनुभयो।

एन्जाका अध्यक्ष कृष्ण तिवारी र पत्रकार हेमन्त काफ्लेले नेपाली समुदायमा चेतना फैलाउने यस्ता कार्यक्रम आवश्यक रहेको बताए। सहभागीहरूले घरेलु हिंसा, लागुऔषध दुर्व्यसन, मानव तस्करी, हुण्डी लगायत विषयमा प्रश्न गरेका थिए, जसमा प्रहरी अधिकारी स्वारले जानकारी दिनुभएको थियो।

कार्यक्रममा करिब तीन दर्जन पेशाकर्मी, व्यवसायी, विद्यार्थी तथा संस्थागत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

spot_img