ओएनएफ साउथ अष्ट्रेलियाको दोस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन

साउथ अष्ट्रेलियामा प्रवासी नेपाली मञ्च (ओएनएफ) को दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले चन्द्र कुवरलाई अध्यक्ष चयन गर्दै २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

कुवरको नेतृत्वमा उपाध्यक्षको रूपमा निलम महत, सचिब बिकास चापागाई, सहसचिव धीर जंग खड्का, र आर्थिक विभाग प्रमुख भोला राम सुवेदी चयन भएका छन्।

अधिवेशनको उद्घाटन ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले पानसमा बत्ती बालेर गरेका थिए। पाण्डेले प्रवासी नेपाली मञ्चको उद्देश्य नेपाली समुदायलाई एकताबद्ध गरेर समृद्ध नेपाल निर्माणमा योगदान पुर्‍याउनु भएको बताएका छन्।

नेपाल सरकारका बाणिज्यदुत दिपक धमलाले प्रवासमा रहेर नेपालमा भइरहेको गलत कामको विरोध गर्न आह्वान गर्दै, हुन्डी जस्ता राष्ट्रको लागि हानिकारक कारोवार रोक्न आग्रह गरेका छन्।

कार्यक्रममा विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता थियो, जसले अधिवेशनको सफलता र ओएनएफको भविष्यको लागि शुभकामना व्यक्त गरेका थिए।

नव निर्वाचित अध्यक्ष चन्द्र कुवरले ओएनएफलाई अझ सशक्त बनाउन र नेपाली समुदायको हितमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।