क्यानबेरा – नेपाली समुदायको गौरवको प्रतीक, विश्वकै सर्वोच्च शिखर सगरमाथाको सम्मानमा मनाइने अन्तर्राष्ट्रिय एभरेष्ट दिवस यस वर्ष पनि क्यानबेरा शहरमा भव्य कार्यक्रमसहित मनाइने भएको छ।
कार्यक्रमको आयोजना FeNCAA (Federation of Nepalese Communities Associations of Australia) तथा यसका सदस्य संस्थाहरूको समन्वयमा गरिँदैछ। यद्यपि अन्तर्राष्ट्रिय एभरेष्ट दिवस प्रत्येक वर्ष मे २९ तारिखमा मनाइन्छ, यसपटक ३१ मे २०२५, शनिवार को दिन क्यानबेरामा विशेष कार्यक्रम तय गरिएको छ। आयोजकका अनुसार, सार्वजनिक बिदा नभएकाले मे २९ को सट्टामा सबै समुदाय सदस्यहरूको अधिकतम सहभागिता सुनिश्चित गर्न नजिकको सप्ताहन्त (शनिवार) रोजिएको हो।
कार्यक्रम अन्तर्गत बिहान १०:०० बजेबाट Regatta Point, Commonwealth Park मा सामूहिक पदयात्रा (Walking Event) हुनेछ, जसपछि सहभागीहरूका लागि सामूहिक BBQ कार्यक्रम पनि आयोजना गरिनेछ।

यसै समारोहको निरन्तरता स्वरूप, १ जुन २०२५, आइतबार, Microsoft Teams मार्फत एक विशेष वेबिनार कार्यक्रम पनि हुने जनाइएको छ, जुन बेलुकी ८:०० बजे देखि ९:३० बजे (AEST) सम्म चल्नेछ।FeNCAA का प्रतिनिधिहरूका अनुसार, यस वर्षको कार्यक्रमलाई अझै प्रभावशाली र समावेशी बनाउन अस्ट्रेलियाका संघीय तथा राज्य सरकारका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति पनि सुनिश्चित गरिएको छ। साथै, स्थानीय नेपाली अगुवाहरू, सामाजिक अभियन्ताहरू, र समुदायका युवाहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रमको मूल उद्देश्य भनेको सगरमाथा र सम्पूर्ण हिमालय क्षेत्रको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु, पर्वतारोहणको इतिहास र साहसिकताको सम्मान गर्नु, र अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूलाई सांस्कृतिक रूपमा एकत्रित गर्नु हो।
नि:शुल्क प्रवेश रहने यो कार्यक्रम सबै उमेरका व्यक्तिहरूका लागि खुला छ, जसले नेपाली पहिचान र गौरवको एक सशक्त झल्को दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।
