नयाँ गभर्नर नियुक्तिपछि राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी पुनः बाँडफाँट

नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिपछि डेपुटी गभर्नरहरूको कार्यविभाजन पुनः गरिएको छ। गभर्नर विश्वनाथ पौडेलले डेपुटी गभर्नर निलम ढुङ्गाना र बमबहादुर मिश्रबीच विभागीय जिम्मेवारी बाँडफाँट गरेका हुन्।

नयाँ कार्यविभाजनअनुसार डेपुटी गभर्नर निलम ढुङ्गानाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, सूचना प्रविधि विभाग तथा प्रदेश कार्यालयहरूको समन्वयको जिम्मेवारी पाएकी छन्।

उता, डेपुटी गभर्नर बमबहादुर मिश्रलाई बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, बैंकिङ विभाग, मानव संसाधन व्यवस्थापन विभाग तथा वित्त व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ।

यसअघि गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि कायम मुकायम गभर्नर बनेकी निलम ढुङ्गानाले सम्पूर्ण विभागको कार्यभार बमबहादुर मिश्रलाई सुम्पिएको अवस्था थियो। तर, हालै विश्वनाथ पौडेल नयाँ गभर्नरका रूपमा नियुक्त भएपछि ढुङ्गाना पुनः डेपुटी गभर्नरको भूमिकामा फर्किएसँगै विभागीय जिम्मेवारी पुनः बाँडफाँट गरिएको हो।

गभर्नरको कार्यालय भने सधैंझैँ गभर्नरमार्फत प्रत्यक्ष रूपमा सञ्चालन हुने व्यवस्था गरिएको छ।

spot_img