अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनि QUANTAS ले करिब ११ वर्षपछी पुनः एडिलेटबाट अन्तराष्ट्रिय उडान सुरु गर्ने घोषणा गरेको छ । सन् २०१३ मा सिंगापुरका लागि उडान ठप्प गरेपछी QANTAS ले दक्षिण अस्ट्रेलियाबाट कुनै पनि अन्तराष्ट्रिय सेवा प्रवाह गरेको थिएन। तर अब त्यो अवस्थाको अन्त्य हुने समय आएको छ । अक्टोबर ३१ तारिखदेखि एडिलेट र अकल्याण्ड (न्युजिल्याण्ड ) बीच सिजनल उडान संचालन गर्ने QANTAS ले जानकारी गरेको छ । यो उडान बोइङ ७३७ विमानद्वारा संचालन हुनेछ र एक हप्तामा जम्मा ४ पटक सेवा उपलब्ध हुनेछ। सिजनल रुपमा मे ३ , २०२६ सम्म यो उडान कायम रहनेछ ।
अहिलेसम्म यो रुटमा एयर न्युजिल्याण्डले पहिले देखि नै सेवा दिदै आएको छ । अब फेरि QANTAS को पुनःप्रवेशसंगै प्रतिस्पर्धा झनै चर्किने अनुमान गरिएको छ । यस सेवा मार्फत अस्ट्रेलिया र न्युजिल्याण्डलाई मात्र नभएर ,अकल्याण्ड – न्युयोर्क मार्ग जोडेर एडिलेडबाट अमेरिका यात्रा गर्न चाहने यात्रुहरुलाई पनि थप सहजता प्रदान गर्ने QANTAS ले बताएको छ । qantasको यो प्रयासले भविष्यमा एडिलेटबाट थप अन्तराष्ट्रिय उडानहरु संचालन हुने दक्षिण अस्ट्रेलियाका प्रिमियर पिटर मालिनस्कसले यो खबरलाई सकारात्मक रुपमा लिदै बताएका छन् ।
“qantas ले एडिलेटबाट पुनःअन्तराष्ट्रिय उडान संचालन गर्नु राम्रो समाचार हो । न्युजिल्याण्ड अस्ट्रेलियाको सबैभन्दा मिल्ने मित्र हो ,र यस प्रकारको कनेक्सनले हाम्रो सम्बन्ध झनै बलियो बनाउनेछ ,” प्रिमियर मालिनस्कसले प्रतिक्रिया दिए । यस घोषणालाई व्यवसाय ,पर्यटन,र अन्तराष्ट्रिय सम्पर्क विस्तारको दृष्टिले महत्वपुर्ण रुपमा लिइएको छ । एडिलेडका बासिन्दाहरुका लागि पनि अब सिधै अकल्याण्ड तथा एक स्टपमार्फत न्युयोर्क पुग्न सहज हुनेछ ।
