प्रधानमन्त्री एन्थोनी अल्बानिजको नेतृत्वमा पुनःनिर्वाचित अस्ट्रेलियन सरकारले विद्यार्थी ऋण प्रणालीमा ऐतिहासिक सुधारको घोषणा गरेको छ। आर्थिक वर्ष २०२५/२६ देखि लागू हुने योजनाले करिब ३० लाख अस्ट्रेलियालीहरूलाई राहत दिनेछ। सरकारले २०२५ जुन १ सम्म कायम रहेका सबै HELP, VET student loans र Apprenticeship Loans मा २० प्रतिशत ऋण माफी दिने भएको छ। औसत $२७,६०० ऋण भएका व्यक्तिका लागि भने यसले करिब $५,५२० बराबरको राहत दिनेछ। त्यस्तै अनिवार्य ऋण भुक्तानीको थ्रेसहोल्ड पनि $५४,४३५ बाट वृद्धि गरी $६७,००० पुर्याइने भएको छ। यसले न्यून आम्दानी भएका युवाहरूका निम्ति थप राहत हुने सरकारको दाबी छ।
साथै, २०२३ र २०२४ मा पूर्ण रूपमा ऋण भुक्तानी गरेका र अन्य सरकारी ऋण नभएका व्यक्तिहरूलाई स्वतः रिफन्ड दिइनेछ। यस कदमले शिक्षा प्रणालीलाई थप न्यायपूर्ण बनाउने र भविष्यको नयाँ पुस्तालाई आर्थिक पक्षमा मजबूत बनाउने प्रधानमन्त्री अल्बानिजले बताए।
सरकारको यो निर्णयलाई शिक्षा क्षेत्रका धेरै सम्बन्धित सरोकारवालाहरूले स्वागत गरेका छन् भने केहीले यसको दीर्घकालीन वित्तीय प्रभावको विषयमा चासो पनि राखेका छन्।
