अष्ट्रेलियाको एडिलेड शहर खुशी शहरको रुपमा घोषणा,अरु शहरहरूका लागि प्रेरणाको स्रोत

क्यानबेरा,अष्ट्रेलियाको एडिलेड शहर यस पटक सबै भन्दा खुशी शहरको रुपमा घोषणा भएको छ । 

World Happy City Index २०२५ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार एडिलेड यस पटक अष्ट्रेलियाकै सबैभन्दा खुशी शहरको रूपमा घोषणा भएको हो । वैश्विक सूचकांकमा यसको स्थान २९औं आएको छ, जुन जीवनस्तर, स्वास्थ्य सुविधा, सार्वजनिक यातायातको सहजता र आर्थिक अवस्था जस्ता आधारमा तय गरिएको हो।

सो शहरका बासिन्दाको जीवनस्तर, स्वास्थ्य सुविधा,सार्वजनिक यातायातको सहजता र आर्थिक अवस्था जस्ता आधारमा खुशी शहरको पहिचान पाउन सफल भएको सुचाकले बताएको छ । एडिलेडको खुसीपन यसको भौगोलिक सुन्दरता मात्र नभएर जीवनको समग्र गुणस्तरसँग जोडिएको देखिन्छ ।

 समुन्द्री किनारको चिसो हावासँगै,वाइन क्षेत्रहरूको हरियाली र वर्षभरि चल्ने सांस्कृतिक उत्सवहरूले यहाँको दैनिक जीवनलाई झन् अर्थपूर्ण बनाएको विश्व खुशी शहर सुचाकको प्रतिवेदनमा उल्लेख छ ।  अष्ट्रेलिया भित्र अन्य शहरहरूको तुलनामा एडिलेडको यो उपलब्धिले थप अर्थ राख्ने बताइएको छ । क्यानबेरा दोस्रो,मेलबर्न तेस्रो र सिड्नी चौथो स्थानमा पुगेका छन । तर पर्थ भने सूचकांकको तल्लो भागमा पुग्दै देशकै सबैभन्दा ’ unhappy’ राजधानी शहरको रूपमा चिनिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा भने डेनमार्कको राजधानी कोपेनहेगन फेरि एकपटक शीर्ष स्थानमा रहन सफल भएको छ । ज्युरिक, सिंगापुर,आरहुस र एण्टवर्प जस्ता शहरहरू पनि खुशीको सूचीमा अगाडी देखिएका छन् । जसले सन्तुलित जीवनशैली र सामाजिक स्थिरताको महत्वलाई पुनः पुष्टि गर्छ ।

सूचकांक तयार गर्ने The Institute for Quality of Life  ले नागरिकहरूको स्वास्थ्य, यातायातको पहुँच,आर्थिक समावेशीतालाई मूल्यांकनको मुख्य आधार बनाएको रिपोर्टमा उल्लेख गरिएको छ । कि एडिलेडको प्रगति केवल योजनाको परिणाम होइन । यो त्यस शहरका नीति निर्माता र समुदायले सँगसँगै बुनिएको सफलताको कथा हो। पारदर्शी शासन, जनताको सहभागिता र दीर्घकालीन सोच राखी विकासमा गरिएको लगानीले शहरलाई केवल सुविधा सम्पन्न बनाएको छैन । यहाँ बस्ने मानिसलाई नै खुशी बनाएको छ ।

एडिलेडको यो सफलताले देखाउँछ कि ‘खुशी’ अब केवल मनोवैज्ञानिक अवस्था होइन ।यो विकासको नापतोल गर्ने सूचक पनि हुन सक्छ । यो सन्देश विश्वभरिका अरु शहरहरूका लागि प्रेरणाको स्रोत हो।