प्रचण्ड लाँकुरी भञ्ज्याङस्थित रिसोर्टमा लडेको खुलासा

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाँकुरीभञ्ज्याङस्थित टेरेसेस रिसोर्टमा लडेको खुलेको छ । स्रोतकाअनुसार प्रचण्ड परिवारका अन्य सदस्यसहित मंगलबार टेरेसेस रिसोर्टमा पुगेका थिए । सोही क्रममा राति रिसोर्टमा लडेर घाइते भएको खुलेको हो ।

गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको र टाउकोमा टाँका लगाइएको बुझिएको छ । यसअघि प्रचण्डको सचिवालयले खुमलटारस्थित निवासमै बाथरुममा लडेको बताएर घटना ढाकछोप गरेको थियो ।

छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेखे पनि स्थान बारे स्पष्ट गरेकी थिइनन् । उनले लेखेकी थिइन्- ‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्ने सबैमा धन्यवाद।’