अष्ट्रेलियाको राजधानी क्यानबेरामा घरमै स्वास्थ्य सेवा प्रदान गर्ने नर्स तथा स्वास्थ्यकर्मीहरू गम्भीर सुरक्षा संकटको सामना गरिरहेका छन्। क्यानबेरा हेल्थ सर्भिसेस (CHS) अन्तर्गत कार्यरत यी कर्मचारीहरू हिंसात्मक घटनामा परेको पुष्टि भएको छ, जसले उनीहरूको ज्यान जोखिममा परेको देखिएको छ।
मार्च २०२५ मा चार वटा हिंसात्मक घटनापछि वर्कसेफद्वारा सुरु गरिएको अनुसन्धानले स्वास्थ्यकर्मीहरूलाई बिना पर्याप्त तयारी, जोखिमपूर्ण र असुरक्षित स्थानहरूमा खटाइएको देखाएको हो। अनुसन्धानले कमजोरीका रूपमा कमजोर जोखिम मूल्याङ्कन प्रणाली र आपतकालीन उपकरणहरूको असक्षम प्रयोग औँल्याएको छ।
यसपछि वर्कसेफ ACT ले CHS विरुद्ध ६ वटा सुधार निर्देशन (Improvement Notices) र १ वटा प्रतिबन्ध आदेश (Prohibition Notice) जारी गरेको थियो।
गत वर्ष मात्रै ५० वटा घर भ्रमणहरूमध्ये ६ वटा आक्रमण र ४३ वटा हिंसाका घटनाहरू रिपोर्ट भएका छन्। तीमध्ये केही घटनामा कर्मचारीहरूले हतियारधारी व्यक्तिहरूसँग जुध्नुपरेको थियो, जसमा छुरा, खुकुरी र बन्दुक जस्ता खतरनाक उपकरण प्रयोग भएको रिपोर्ट गरिएको छ।
उक्त अवस्थालाई मध्यनजर गर्दै CHS ले केही सुधारात्मक कदमहरू चालेको छ, जसमा जोखिम मूल्याङ्कन प्रणालीको पुनरावलोकन, घरमै सेवा दिने कर्मचारीहरूका लागि अनिवार्य तालिम, आपतकालीन डिभाइसको प्रयोग र लोकेशन ट्र्याकिङ प्रणालीको कार्यान्वयन समावेश छन्।
हाल वर्कसेफले आफ्ना नोटिसहरू फिर्ता लिए पनि स्वास्थ्यकर्मीहरूको सन्तुष्टि अझै सुनिश्चित हुन सकेको छैन। स्वास्थ्य क्षेत्रका सरोकारवाला निकायहरू अझै व्यावहारिक सुधार र दीर्घकालीन सुरक्षा रणनीतिहरू कार्यान्वयन गर्न जोड दिइरहेका छन्।
