अष्ट्रेलियाको संघीय निर्वाचन २०२५ःअग्रिम मतदान सुरु, निर्वाचन आयोगको तयारी तीव्र

क्यानबेरा : मे ३ शनिबार हुने अष्ट्रेलियाको संघीय निर्वाचनअघि नै मतदान शुरु भएको छ । संघीय निर्वाचन २०२५का लागि अग्रिम योग्य मतदाताले मतदान गर्न औपचारिक रुपमा सुरु भैसके को छ ।
अष्ट्रेलियन इलेक्टोरल कमिसन AEC ले जानकारी दिएअनुसार, आगामी मे ३ शनिबार हुने निर्वाचनअघि नै मतदान गर्न चाहने योग्य मतदाताहरूले अब आफ्नो मत खसाल्न सक्नेछन ।
निर्वाचन आयोगका अनुसार, निर्वाचनको मुख्य दिन मतदान केन्द्रमा जान नसक्ने मतदाताहरूलाई लक्षित गर्दै अग्रिम मतदानको व्यवस्था गरिएको हो । मतदाता आफ्नो व्यक्तिगत, व्यावसायिक वा स्वास्थ्यजन्य कारणले मतदान केन्द्र पुग्न असमर्थ हुने अवस्था भएमा उनीहरूले अग्रिम रूपमा मतदान गर्न पाउनेछन्।उनीहरूले यदि निर्वाचनको दिन आफ्नो दर्ता गरिएको निर्वाचन क्षेत्र बाहिर हुनेछन् भने, कुनै मतदान केन्द्रबाट आठ किलोमिटरभन्दा टाढा हुनेछन् भने वा उनीहरू यात्रा गरिरहेका हुनेछन् भने अग्रिम मतदान गर्न सक्नेछन् । यस्तै, कार्यस्थलबाट छुट्टी नपाउने, गम्भीर बिरामी वा अपांगता भएका, सुत्केरी हुने तयारीमा रहेका वा यस्ता व्यक्तिहरूको हेरचाह गरिरहेका मतदाताहरू पनि अग्रिम मतदानका लागि योग्य ठहरिन्छन्।

धार्मिक कारण, अस्पतालमा भर्ना भएर मतदान गर्न नसक्ने अवस्था, वा सुरक्षा सम्बन्धी चिन्ताका कारण मतदान केन्द्र जान कठिन हुने व्यक्तिहरूका लागि पनि अग्रिम मतदानको सुविधा उपलब्ध गराइएको छ । यसबाहेक, तीन वर्षभन्दा कम सजाय पाएका कैदीहरू, वा “साइलेंट इलेक्टर” का रूपमा दर्ता गरिएका मतदाताहरूले पनि निर्वाचन दिनभन्दा पहिले आफ्नो मत दिन सक्नेछन्।

अग्रिम मतदान तीनवटा तरिकाबाट गर्न सकिन्छ—व्यक्तिगत रूपमा, हुलाकमार्फत, वा टेलिफोन मार्फत व्यक्तिगत रूपमा मतदान गर्न चाहने मतदाताहरूले नजिकको अग्रिम मतदान केन्द्रमा गएर मतदान गर्न सक्नेछन्। यस्ता केन्द्रहरू नियमित मतदान केन्द्रजस्तै संचालनमा आउनेछन्, तर निर्वाचन दिनभन्दा अगावै खुला हुनेछन्।
हुलाकबाट मतदान गर्न चाहनेहरूलाइ AEC को वेबसाइटमार्फत २०२५ अप्रिल ३०, बुधबार साँझ ६ बजेसम्म पोस्टल भोटको लागि आवेदन दिन सकिनेछ । मतपत्र प्राप्त गरेपछि, आयोगले दिएको स्पष्ट निर्देशनअनुसार भरेर त्यसलाई फिर्ता पठाउनु पर्नेछ।


दृष्टिविहीन, न्यून दृष्टि भएका वा अन्टार्कटिकामा कार्यरत विशेष मतदाताहरूका लागि टेलिफोन मार्फत मतदान गर्ने विकल्प पनि व्यवस्था गरिएको आयोगले जनाएको छ।AEC का प्रवक्ताका अनुसार, अग्रिम मतदान गर्नेहरूले मतदानका बेला दुईवटा मतपत्र प्राप्त गर्नेछन्। हरियो पानामा रहेको ‘हाउस अफ रिप्रजेन्टेटिभ्स’ को मतपत्रमा आफ्नो निर्वाचन क्षेत्रका सबै उम्मेदवारलाई प्राथमिकताको आधारमा क्रम मिलाउँदै नम्बर दिनुपर्नेछ ।सेतो पानामा रहेको ‘सेनेट’ को मतपत्रमा चाहिँ दुईवटा विकल्प रहनेछन्—लाइनमाथि कम्तीमा ६ वटा पार्टीलाई क्रम अनुसार नम्बर दिन सकिनेछ, र लाइनमुनि कम्तीमा १२ जना उम्मेदवारलाई व्यक्तिगत रूपमा नम्बर दिनुपर्नेछ।


निर्वाचन आयोगले सबै मतदाताहरूलाई निर्देशिकाहरू ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ ताकि मतदान वैध रहोस् र मत गणनामा सहजता होस्।
अबको केही साताभित्र अष्ट्रेलियाको नेतृत्व को हातमा पुग्नेछ भन्ने निर्णय मतदाताहरूको हातमा छ। त्यसैले आयोगले सबै योग्य नागरिकहरूलाई समयमै, सजग भएर र सही तरिकाले आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ।